काठमाडौँ, ३ मङ्सिर : सरकारले स्थानीय प्रशासनसँगको समन्वयमा शान्तिपूर्वक तरिकाले आ–आफ्ना कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
आज बाराको सिमरामा दुई पक्षबीच भएको झडपपछि गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राखे संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता आवश्यक रहेको जनाएको हो ।
वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले मुलुकमा शान्तिसुरक्षा तथा अमनचयन कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको स्पष्ट पारेको छ ।
आज बाराको सिमरामा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिई स्थिति सामान्यीकरण हुँदै गएको जनाएको छ । “सो क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गइरहेको छ”, मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।