मंसिर ४, २०८२ बिहिबार

काठमाडौँ, ४ मङ्सिरः पशुपति क्षेत्र विकास कोषले आज सर्वसाधारणलाई भगवान् पशुपतिनाथको नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको दर्शन गराएको छ ।

    कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्यका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षसहित प्राचीन महत्त्वका गरगहनालगायत सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । सोही परम्परा अनुसार आज बिहान ९ः०० बजेदेखि ११ः१५ बजेसम्म सुरक्षा निकायको सहयोगमा ती सामाग्री प्रदर्शन गरिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो ।

    यसअघि मार्गशीर्ष कृष्ण आमावास्याका दिन (मङ्सिर २ गते) मङ्गलबार बिहान १०ः०० बजेदेखि ११ः३० बजेसम्म पनि सुरक्षा निकायको सहयोगमा नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्त्वका गरगहना सर्वसाधारणलाई देखाइएको थियो । 

    मार्गशीर्ष कृष्ण त्रयोदशीका दिनदेखि एक वर्ष सुरक्षित रूपमा ती सामग्री राखिएको छ । मार्गशीर्ष कृष्ण आमावास्यका दिनदेखि आगामी एक वर्षसम्म सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जनाएको छ ।