मंसिर ४, २०८२ बिहिबार

धनगढी, ४ मङ्सिरः पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण आजदेखि यहाँ सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सो तालिम सञ्चालन भएको हो ।

    पर्यटन प्रवद्र्धन, दृश्य अभिलेखन, ब्रान्ड प्रमोशन तथा स्थानीय समुदायको पर्यटन सहभागिता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाका ३५ पत्रकार सहभागी छन् । उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले तालिमका माध्यमबाट प्रदेशको पर्यटन अभियानलाई सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभयो । 

    नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारको क्षमतावृद्धि र गुणस्तरीय सामग्री उत्पादन गर्न यस्ता तालिम आवश्यक भएको बताउनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता पर्यटन प्रवद्र्धनको आधारभूत साधन भएको उल्लेख गर्नुभयो । 

    तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिपप्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र सञ्चार रणनीतिबारे प्रशिक्षण दिएका थिए । फोटो पत्रकार तथा प्रशिक्षक सुनिल चुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सेना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फ्रेम निर्माण, तस्विर कथा निर्माण, प्रकाश–छायाँको व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण सञ्चालन गर्नेछन् । कार्यक्रमको सहजीकरण एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए । 

    दिगो पर्यटन परियोजना (एसटीपी)ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासङ्घ कैलालीसँगको सहकार्यमा तीनदिने तालिम सञ्चालन गरेको हो ।