मंसिर ५, २०८२ शुक्रबार

चितवन, ५ मङ्सिरः विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उहाँहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गर्नुभएको हो । 

कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विद्यार्र्थी र ३१ जना खेलाडीलाई सम्मान गरिएको हो । सम्मानस्वरुप उहाँहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो । 

त्यस अवसरमा नगरप्रमुख विनोद रेग्मीले मुलुकको शैक्षिक उन्नयनका लागि संस्थागत तथा सामुदायिक विद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार कालिका पालिकाका ११  संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत  छन् ।