धरान (सुनसरी), ५ मङ्सिरः खेलकुदमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीका १३ वटा विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम सुरु गरिएको छ ।
कोशी प्रदेश फुटबल सङ्घ र सुनसरी जिल्ला फुटबल सङ्घको आयोजनामा तथा अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) र युनेस्कोको सहयोगमा सञ्चालन भएको कार्यक्रम आजदेखि जिल्लाका विभिन्न विद्यालयमा सुरु गरिएको हो ।
आज यहाँ धरान उपमहानगरपालिका–१७ स्थित नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमी रङ्गशालामा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले कार्यक्रम शुभारम्भ गर्नुभएको हो । उहाँले चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकामा फुटबलको पहुँच बिस्तार गर्ने उद्देश्यसहित कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
अध्यक्ष नेम्वाङका अनुसार ‘फुटबल फर स्कुल्स’ कार्यक्रम देशभरका ७७ जिल्लाका एक हजार ७२ विद्यालयमा सञ्चालन गरिनेछ । कार्यक्रमअन्तर्गत ३२ हजार ६४० वटा फुटबलसमेत वितरण गरिने उहाँले जानकारी दिनुभयो । सुनसरीमा विभिन्न स्थानीय तहका १३ विद्यालय चयन गरी कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
समूहमा खेलिने फुटबलजस्ता कार्यक्रमले बालबालिकामा शारीरिक स्फूर्ति, मानसिक धैर्यता, समूहगत समन्वय, नेतृत्व क्षमतादेखि निर्णय गर्ने कौशल विकास गर्ने अपेक्षा गरिएको छ ।