मंसिर ५, २०८२ शुक्रबार

दोधारा चाँदनी (कञ्चनपुर), ५ मङ्सिरः यहाँको दोधारा–चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ । महाकाली सिँचाइ तेस्रो चरणको आयोजना कार्यालयले रु आठ करोड नौ लाखको लागतमा लिफ्ट सिँचाइ निर्माण गरिरहेको छ । 

आयोजना प्रमुख योगेन्द्र मिश्रले सिँचाइबाट दोधारा–चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने जानकारी दिनुभयो । “ठेक्का सम्झौताअनुसार आगामी चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने भए पनि हामीले द्रूत गतिमा काम गरिरहेका छौँ । यही गतिमा काम भएमा  डेढ÷दुई महिनाभित्र पानी सञ्चालन हुने अवस्थामा पुग्छौँ”, उहाँले भन्नुभयो, “यसबाट दोधारा–चाँदनीमा २०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।” 

विसं २०७९ मङ्सिरमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५६ दशमलव ८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६०० हेक्टरमा खेती हुँदै आएको छ । सबै ठाउँमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन् ।  किसानले प्रतिघण्टा २०० रुपैयाँ तिरेर मोटरबाट सिँचाइ गर्दै आएका स्थानीय सीता सुनारले बताउनुभयो । “सिँचाइ नहुँदा खेती गर्न निकै समस्या हँुदै आएको छ । अब आयोजना सञ्चालनमा आए धेरै सहयोग पुग्ने छ”, उहाँले भन्नुभयो ।      

महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले महाकाली सिँचाइ मूल नहर निर्माणबाहेक लिफ्ट सिँचाइ र बोरिङबाट सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०६३÷०६४ देखि सुरु भएको तेस्रो चरणको आयोजना टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्ने भनिए पनि २८ किमी मात्र निर्माण सम्पन्न भएको छ । बाँकी २० किलोमिटर नहर निर्माणको काम भइरहेको छ । निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहरबाट सिँचाइका लागि २२ वटा शाखा नहर निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । 

आयोजना कार्यालयका अनुसार निर्माण भएको नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउने गरी संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट पानी नछोड्दा समस्या भइरहेको छ ।

विसं २०८७ सम्म कैलालीको मालाखेतीसम्म मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । जसबाट कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।