काठमाडौँ, ५ मङ्सिर : राजधानी काठमाडौँकै पालिकाका जनप्रतिनिधिहरूले विकास निर्माणमा स्रोत साधन पर्याप्त नहुँदा नागरिकको मागअनुसार काम गर्न नसकिएको गुनासो गरेका छन् ।
जिल्ला समन्वय समिति काठमाडौँले बिहीबारदेखि आयोजना गरेको राजधानीका स्थानीय तहहरू तथा प्रादेशिक र सङ्घीय कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा सञ्चालित योजना तथा कार्यक्रमको दुईदिने वार्षिक समीक्षा कार्यक्रममा नगर प्रमुखहरूले यस्तो गुनासो गर्नुभएको हो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले भूगोल ठूलो र जनसङ्ख्या थोरै भएको नगरपालिकाको आय पनि कम भएकाले काम गर्न अप्ठ्यारो परेको बताउनुभयो । प्रत्येक वर्ष घाटा बजेट बनाउनुपरेको उहाँको भनाइ थियो । दक्षिणकाली मकवानपुरसम्म सीमा जोडिएको स्थानीय तह हो ।
बस्नेतकै जस्तो भनाइ शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठको पनि छ । शङ्खरापुरमा भूगोल ठूलो र आय कम रहेको उहाँले सुनाउनुभयो । स्रोत साधनकै कमीले नगरपालिकाको ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार काम गर्न नसकिएको उहाँले सुनाउनुभयो । शङ्खरापुर सिन्धुपाल्चोकको मेलम्ची र काभ्रेपलाञ्चोककको मण्डन देउपुर नगरपालिकासँग जोडिने स्थानीय तह हो ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सीमित स्रोतबाट गरिएका काम पनि उपलब्धिमूलक हुन नसक्ने गरेको बताउनुभयो । “पालिकाको स्रोतबाट धेरै तालिम आयोजना गर्ने गरिएको छ, एउटै मानिसले पाँचवटासम्म तालिम लिन्छ, त्यसको कुनै उपयोग गर्दैन, समय बिताउनमात्र तालिम लिने र दिने काम भइरहेको छ, यस्ता कार्यक्रम कम गरेर अब उपलब्धि हुने काममा हाम्रो ध्यान जानुपर्छ”, उहाँले भन्नुभयो ।
यस्ता तालिमलाई भन्दा कागेश्वरीमा ‘आइटी इनोभेसन’को कामलाई प्राथमिकता दिइएको नगरप्रमुख कार्कीले जानकारी गराउनुभयो । नगरपालिकाले आयोजना गरेको ‘आइटी इनोभेसन’ मा ७० जना युवा सहभागी भइरहेको पनि उहाँले सुनाउनुभयो ।
समीक्षा कार्यक्रममा काठमाडौँ जिल्लामा रहेका तीनै तहका कार्यालयका प्रतिनिधिले यहाँ गरिएका कार्यक्रम एवं योजनाका बारेमा प्रस्तुति गरेका थिए । काठमाडौँ महानगरपालिका भने समीक्षा कार्यक्रममा उपस्थित नभएको जिल्ला समन्य समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिनुभयो । तीन तहबीच समन्वय भएन भन्ने महानगरपालिकाले त्यसकै लागि आयोजना गरिएको कार्यक्रममा भने प्रतिनिधिसम्म नपठाएको उहाँले सुनाउनुभयो ।
---