म्याग्दी, ५ मङ्सिर : धवलागिरी गाउँपालिकामा रहेका ११ वटा माध्यमिक विद्यालयका तीन सय जनाभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण भएको छ ।
धवलागिरि गाउँपालिका–७ धारापानीका स्वर्गीय लोकबहादुर थापा र आमा चन्द्रकली थापाका नाममा उहाँका सन्तानले स्थापना गरेको चन्द्र–लोक शैक्षिक कोषमार्फत जेहेन्दार, विपन्न र अनाथ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
प्रतिविद्यार्थी रु सात सय २० मूल्यबराबरको छवटा कापी र छवटा कलमका दरले तीन सय १० जनालाई रु दुई लाख २३ हजार २०० मूल्यबराबरको शैक्षिक सामग्री सहयोग गरेको कोषका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो ।
जनकल्याण मावि गुर्जा, लमसुङ मावि, धवलागिरि मावि मुना, धनजनता मावि फलियागाउँ, बुद्धिविकास मावि मुदी, चन्द्रज्योति मावि खिवाङ, जनजागृति मावि मल्कवाङ, जनविकास मावि मराङ, किसानी चन्द्रकुन्ता मावि धारापानी, ताकम मावि र हेम नमूना आवासीय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कक्षा १ देखि १० सम्म वार्षिक परीक्षामा प्रथम भएका, विद्यालयले सिफारिस गरेका विपन्न र अनाथ विद्यार्थी छनोट गरेर पठनपाठनमा सहजताका लागि शैक्षिक सामग्री वितरण गरेको थापाले बताउनुभयो । कोषले चार वर्षदेखि धवलागिरि गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।