मंसिर ५, २०८२ शुक्रबार

काठमाडौँ, ५ मङ्सिर : सभामुख देवराज घिमिरेले छिमेकी मुलुक चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्ने बताउनुभएको छ ।
 
पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ लोकार्पण कार्यक्रममा उहाँले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति निकै प्रशंसनीय रहेको बताउनुभयो । चीनसँग कसरी साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन सक्छ भन्ने कुरामा ध्यानुपर्नेमा उहाँको जोड थियो । तर राजनीतिक अस्थिरताकै कारण देशको अवस्था सङ्कटमा पर्न लागेको सभामुख घिमिरेको भनाइ छ ।

कार्यक्रममा पूर्वमुख्यसचिव एवं पूर्व चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, प्रा डा युवराज सङ्ग्रौला र चिनियाँ प्रोफेसर चाङ यु याङ (नेपाली नाम वर्षा)ले लेखक आचार्यको पुस्तकमाथि समीक्षा गर्नुभएको थियो । 

पूर्वमुख्यसचिव पौड्यालले आचार्यको पुस्तकमा चिनियाँ विकास नीतिको दस्तावेज समेटिएको सुनाउनुभयो । साथै, चीनले लोकतान्त्रिक पद्धतिलाई कसरी बुझ्छ र आफूले जनताका लागि कसरी काम गरेको छ भन्ने दृष्टिकोणको नालीबेली पुस्तकमा समेटेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रा डा सङ्ग्रौलाले भने छिमेकी मुलुक चीनको राजनीतिक, आर्थिक अवधारणालाई नेपालले सकारत्मक रूपमा लिएर यहाँको गरिबी निवारणमा सहकार्य गर्न अतिआवश्यक रहेको धारणा राख्नुभयो । त्यसैगरी, चिनियाँ प्रोफेसर यु याङले चीन र नेपालको सम्बन्ध इतिहासदेखि नै सुन्दर रहँदै आएको र भविष्य पनि उज्ज्वल रहेको सुनाउनुभयो ।

कार्यक्रममा लेखक आचार्यले विश्वभर चीनको नीतिगत दृष्टिकोणको निकै चासो र चर्चाले हेर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार नेपालले पनि अध्ययन र चासो लिन आवश्यक छ । आचार्यका यसअघि चीनसम्बन्धी चार पुस्तक र अन्य गरी आठ पुस्तक प्रकाशित छन् । लेखक आचार्य ब्राह वर्षदेखि बेइजिङस्थित चिनियाँ मिडिया ग्रुप ‘सीएमजी’ नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत रहनुभएको छ ।