मंसिर ५, २०८२ शुक्रबार

काठमाडौँ, ५ मङ्सिर : यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो । जसले मौसम चिसो बढाएन मात्रै ठाउँठाउँमा हिमपात गरायो । धानबालीमा पनि ठूलो क्षति भयो । ठाउँठाउँको जनजीवन प्रभावित भए ।

अहिले हेर्दा गत वर्षको मङ्सिरको तुलनामा यसपालि बढी चिसो महसुस भएको छ । अब शीलतहर र हिमपातको समय सुरु भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपातसम्बन्धी पूर्वतयारी तथा राष्ट्रिय प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ ।

सोही कार्ययोजनामुताविक हरेक जिल्लाले आफ्नो भौगोलिक अवस्था हिमपात र शीतलहरको सम्भावित जोखिम तथा अन्य कारकतत्वहरूलाई समेत केन्द्रमा राखेर धमाधम शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेका छन् । धेरैजसो जिल्लाहरूले अबको एक हप्तामै कार्ययोजना तयार पारी लागू गर्नेगरी काम भइरहेको जानकारी गराएका प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय कार्ययोजना जिल्लामा गइसकेको छ, भर्खरै हामीले छलफल पनि गर्यौँ, त्यही आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले आफ्नो काम गरिरहेका छन् । प्राधिकरणसँगको छलफलमा एक हप्ताभित्र लागू गर्नेगरी काम भइरहेको जिल्लाका प्रजिअहरूले जानकारी गराउनुभएको छ । यसपालि हामीले समयमै प्रतिकार्य योजना बनाएर लागू गरेका छौँ ।”

नेपालको तराई–मधेसका जिल्लाहरूमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको असर मङ्सिरदेखि फागुनसम्म हुन्छ । यसबाट विपन्न वर्गका व्यक्ति, पशुपन्छी, हिउँदो खेतीबाली बढी प्रभावित हुने गरेका छन् । वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्गता भएकाहरू र दीर्घरोगीलाई बढी समस्या हुने भएकाले यो बेलामा उहाँहरूलाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ । सोही आधारमा कार्ययोजना बनाइएको जिल्लाका प्रजिअहरूले बताएका छन् ।

राष्ट्रिय कर्यायोजनाका आधारमा जिल्ला जिल्लामा प्रतिकार्य योजनाहरू निर्माण भइरहेका छन् । हिमपात र शीतलहर प्रभावित केही जिल्लामा चुस्त तयारी गरिएको छ । 

हिमपातबाट प्रभावित हुने जिल्ला मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल कात्तिक १० र ११ गतेको बेमौसमी हिमपातले तिलिचो र थोराङलापासमा पर्यटक प्रभावित बनाएको स्मरण गर्दै आठ सय जति पदयात्रीलाई उद्धार गर्नुपरेको सुनाउनुहुन्छ ।

अब पनि त्यस्तै हिमपात हुने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो । त्यसबेला सो क्षेत्रमा दुई जना भारतीय नागरिकको दुःखद् निधन भएको थियो ।

उहाँका अनुसार गएको १५ वर्षको अवधिमा २०७१ सालमा १५ जनाको निधन भएको र अन्य समयमा भने ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । यसपालि पनि मानवीय क्षति नहोस् भनेर समयमै हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भइरहेको र केही दिनमै लागू हुने उहाँ बताउनुहुन्छ ।

“अब हामीले टुरिष्ट गाइडहरू नभएका पर्यटकलाई यो बेला पठाउँदैनौँ, अन्य समूहमै पठाउनेछौँ, विद्युत् र फोनका समस्याले गर्दा केही कठिनाइ हुने हुँदा सोहीअनुसारको प्रतिकार्य योजना बनेको र एक हप्तामै लागू हुन्छ”, उहाँले भन्नुभयो ।

यस्तै, हिमपातबाट प्रभावित हुने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले केही दिनमै प्रतिकार्य योजना तयार भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हिमबाढी र हिमपहिरोमै हामी प्रतिकार्य योजना केन्द्रित गर्छौँ, यहाँ रेस्क्यु टिमसहित ड्रोन र प्रहरी जनशक्ति थप भएमा प्रतिकार्यका लागि सहज हुन्छ, त्यसको प्रयासमा लागिरहेका छौँ ।” कात्तिकको हिमपातमा हवाईमार्ग रोकिँदा पर्यटक अड्किएर व्यवस्थापनमा चुनौती भएको पनि उहाँले सुनाउनुभयो ।

यता शीतलहर प्रभावित जिल्ला महोत्तरी र रौतहटमा पनि पनि अन्तिम तयारी गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सम्भावित जोखिम क्षेत्र पहिचान गरी प्रतिकार्य योजना निर्माण गरिएको बताउनुहुन्छ ।

रौतहटका प्रजिअ दिनेशसागर भुसाल बागमती लालबकैया नदीले चिरेको रौतहट बाढीसँगै  हुस्सु शीतलरबाट समेत प्रभावित जिल्ला भएको बताउनुहुन्छ । उहाँ शीतलहरका समयमा रौतहटमा चिसोलगायत घुर ताप्दा विभिन्न कारणले जोखिम बढ्नुका साथै सोही समयमा दुर्घटनासमेत दोब्बरले बढ्ने बताउनुहुन्छ ।

यस्तै, निमोनियाका बिरामी नौ गुणा वृद्धि हुने भएकाले सोहीअनुसारको तयारी गरी प्रतिकार्य योजना अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

प्राधिकरणका अनुसार शीतलहरबाट कोशीका झापा, सुनसरी, मोरङ, मधेस प्रदेशमा सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सा, बागमतीमा चितवन, गण्डकीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व), लुम्बिनीमा नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र सुदूरपश्चिममा कैलाली र कञ्चनपुर प्रभावित हुने अनुमान गरिएको छ । यस्तै हिमपातबाट कोशीका ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम,  ओखलढुङ्गा, भोजुरको माथिल्लो क्षेत्र प्रभावित हुने अनुमान गरिएको छ ।

त्यसैगरी, बागमतीको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा र धादिङ गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, बागलुङ, कास्की, लुम्बिनी प्रदेशको रुकुमपूर्व, कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला बैतडी र डडेलधुरा जोखिममा रहेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले ती क्षेत्रहरूमा कुनै पनि क्षति व्यहोर्नुनपर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसमेत दिनुभएको छ ।