मंसिर ५, २०८२ शुक्रबार

काठमाडौँ, ५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र पार्टी केन्द्रित हुने बताउनुभएको छ ।

    नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ललितपुरको गोदावारीमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधि निर्माण गरिसकेकाले आगामी महाधिवेशन नेतृत्व निर्माणमा मात्र केन्द्रित हुने बताउनुभयो ।

    “हामीले भर्खरै गोदावरीमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर पार्टीको नीति बनाइसकेका छौँ । त्यो नीतिमा कसैले पनि असहमति जनाएका छैनन्”, उहाँले भन्नुभयो, “ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकमा पनि जेनजी आन्दोलनबारे पार्टीले दृष्टिकोण बनाएको छ । त्यसलै अब ती नीति, विधि र दृष्टिकोणमा छलफल आवश्यक छैन, नेतृत्वको चयन हुन्छ ।”

    एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तोकिएको छ । महासचिव पोखरेलले उहाँले बलियो राजनीतिक शक्तिको निर्माण सही नीति, कार्यक्रम र प्रभावकारी नेतृत्वबाट मात्र हुने धारणा राख्नुभयो । 

    संविधान र कानुनअनुसारको राज्य निर्माणको बाटोमा एमाले प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उहाँले अहिलेको असामान्य परिस्थितिमा विशेष साङ्गठनिक योजनाका साथ पार्टी अगाडि बढ्न खोजेको उल्लेख गर्नुभयो । 

    भेलामा परिषद्का अध्यक्ष बलिभद्र रानाले महाधिवेशनमा उद्योग व्यवसायीका विषयलाई गम्भीरताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।