मंसिर ६, २०८२ शनिबार

भोजपुर, ६ मङ्सिरः यहाँको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकालाई जोड्ने एखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयवासीले वर्षौँदेखिको सास्तिबाट राहत पाएका छन् । खोलामा पक्की पुल नहुँदा लामो समयदेखि जोखिम मोलेर आवत–जावत गर्दै आएका स्थानीय अहिले सहज रूपमा सडक यातायात उपयोग गर्न सक्षम भएका छन् ।

    कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु सात करोड ३७ लाख लागतमा निर्माण सम्पन्न गरिएको पुलको लम्बाइ ३७ मिटर रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । एक स्पानमा निर्माण भएको यो पुलले हतुवागढी–९ हसनपुर र आमचोक–८ लाई प्रत्यक्ष रूपमा जोडेको छ ।

    पुल बनेपछि स्थानीयमा खुसी छाएको छ । पहिले वर्षातको समयमा खोला तर्न नसक्दाबीचमै रात बिताउनुपर्ने अवस्था रहने गरेकोमा अब सडकमार्ग सहज बनेको स्थानीय सन्तोष राई बताउनुहुन्छ । पुल निर्माणले गाउँघरमा उत्पादन भएको कृषि उजपको बजारीकरणमा सहज भएको उहाँको भनाइ छ ।

    “एखुवा खोलामा पुल नहुँदा हामीले धेरै सास्ती भोग्यौँ,” उहाँले भन्नुभयो, “अब कृषि उपज बजारसम्म सहजै पु¥याउन सकिने भएको छ ।”

    पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा बसोबास गर्ने स्थानीयको आवत–जावत सहज भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राई बताउनुहुन्छ । उहाँका अनुसार वर्षौँदेखिको समस्या अन्त्य गर्दै पक्की पुलले स्थानीय विकास र आर्थिक गतिशीलतामा सकारात्मक असर पार्ने देखिएको छ । एखुवा खोलाको यो पक्की पुल राउत कन्स्ट्रक्सनले निर्माण गरेको हो ।
–––