त्रिवेणी (नवलपरासी), ६ मङ्सिर : व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले कृषकहरूलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ ।
कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती र स्थानीय तहको संयुक्त पहलमा व्यावसायिक रूपमा सागसब्जी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।
किसानको बारीसम्ममै पुगेर विषादीको प्रयोगसम्बन्धी सचेतना प्रदान गर्न सुरु गरिएको उहाँले बताउनुभयो । नवलपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा केही दिनअघि काउलीमा ‘अर्गानोफस्फेट’ विषादीको मात्रा ९८ प्रतिशत भेटिएको थियो । कावासोती कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएका सागसब्जीमा लगातार रूपमा विषादीको मात्रा भेटिएपछि विषादी प्रयोग न्यूनीकरणका लागि संयुक्त पहल थालिएको हो । “पछिल्लो पटकका परीक्षणहरूमा सागसब्जीमा विषादीको मात्रा भेटिन थालेपछि, कृषकलाई यसको प्रयोगको बारेमा सचेत गराउने अभियान सुरु गरेका हौँ”, कृषि विकास कार्यालय नवलपुरका प्रमुख तिवारीले भन्नुभयो ।
सागसब्जी उत्पादक किसानसहित विषादी बेच्ने एग्रोभेटका सञ्चालकहरूलाई समेत विषादीको प्रयोगका विषयमा सचेत गराउने उद्देश्यले अहिले कामहरू गरिएको उहाँले बताउनुभयो । किसानहरूलाई सही रूपमा विषादीको प्रयोग गर्न सिकाउन, जथाभावी विषादी प्रयोगले मानव स्वास्थ्य र कृषि पर्यावरणीय प्रणालीमा पर्ने असरहरूको बारेमा जानकारी दिनका लागि संयुक्त अभियान चलाइएको देवचुली नगरपालिका कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले जानकारी दिनुभयो । उक्त क्रममा किसानहरूले प्रयोग गर्दै आएका विभिन्न विषादी, तिनीहरूको उचित प्रयोग समय, मात्रा र मानव जीवनमा पर्ने प्रभावबारे विस्तृत जानकारी प्रदान गर्ने गरिएको छ ।
किसानलाई बालीमा प्रयोग हुने विषादीको प्रकार, उचित मात्रा, प्रयोगको समय र मानव स्वास्थ्यमा पर्ने सम्भावित असरबारे जानकारी गराउने गरिएको छ । साथै, विषादी प्रयोग गरेको बालीमा विषादीको असर हुने समयको जानकारी गराउँदै विषादी प्रयोग गर्दा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग र विषादीको सही भण्डारण तथा नष्ट गर्ने उपायबारे पनि कृषकहरूलाई सिकाउने गरिएको कृषि विकास कार्यालय नवलपुर प्रमुख तिवारीले बताउनुभयो ।
किसानले विषादीको सही रूपमा प्रयोग नगरेको, बढी मात्रामा विषादीको प्रयोग र कडा खालका विषादी प्रयोग गर्दा सागसब्जीमा विषादीको अवशेष भेटिने गरेको उहाँले बताउनुभयो । किसानलाई विषादीको सही प्रयोग सिकाए मात्र पनि सागसब्जीमा विषादीको मात्रा घट्ने र मानव स्वास्थ्य जोगाउन सहयोग पुग्ने कृषि विकास कार्यालयका प्रमुख तिवारीले बताउनुभयो । विषादी प्रयोग पछि विषादीको प्रकार हेरेर कति दिन टिप्न नहुने भन्ने समेत रहने हुँदा यो विषय ख्याल गरे मात्र पनि बजारका सागसब्जीमा विषादीको मात्रा घट्ने उहाँले बताउनुभयो ।
संयुक्त पहलमा थालिएको अभियानपछि कृषकले सागसब्जीमा विषादीको मात्रा घटाउँदै गएकाले उपलब्धि राम्रो भएको उहाँले बताउनुभयो । निरन्तर सचेतनाका कार्यक्रम गर्दै जाँदा अहिले यहाँका व्यावसायिक कृषि फर्मबाट उत्पादन हुने सागसब्जी राम्रो उत्पादन हुने थालेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख तिवारीले बताउनुभयो ।