काठमाडौँ, ६ मङ्सिरः जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्नसक्ने हुन्छ ।
जनरल फिजिसियन डा परशुराम घिमिरेका अनुसार विशेषगरी चिसो बढ्न थालेपछि श्वासप्रश्वासका समस्या बढी देखिन थाल्छ । जसमा छाती, मुख, नाक तथा फोक्सोमा सङ्क्रमण बढ्नसक्ने सम्भावना धेरै हुन्छ ।
फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकका व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ । डा घिमिरेले फ्लू भएका अधिकांशलाई एन्टिभाइरल औषधिहरु आवश्यक नपरे पनि दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अलि बढी जोखिम धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीहरुको निगरानीमा बस्नुपर्ने बताउनुहुन्छ ।
“जो–जो जोखिम वर्ग छन् विशेषगरी दीर्घरोगीहरु सुगर, प्रेसर, टिबीलगायत रोगप्रतिरोधात्मक क्षमता कम गर्ने खालका रोगहरु भएकालाई फ्लूलगायत अरु सङ्क्रमण हुने सम्भावना अलिक बढी हुन्छ”, उहाँले भन्नुभयो ।
फूलू भएकालाई टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जीउ र मांसपेशी दुख्ने, नाक बन्द हुने, थकान महसुस हुने लगायतका लक्षणहरु देखिन सक्छन् तर तर फ्लू भएका सबैलाई ज्वरो नलाग्न पनि सक्छ ।
चिकित्सकका अनुसार यसलाई रोकथाम गर्न बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने गर्नुपर्छ ।
जनरल फिजिसियन डा परशुराम घिमिरेका अनुसार फ्लूबाट बच्न न्यानो कपडा लगाउने, तातो ठाउँमा बस्नुपर्छ । “सकेसम्म पानी झोल अथवा खानेकुराहरु प्रशस्तमात्रामा खानुपर्यो । मास्कको प्रयोग गर्ने, स्वस्थ्यकर खानपानमा ध्यान दिनुपर्छ, निमोनिया तथा फ्लूको खोप पाइन्छ । त्यो पनि लगाउँदा जोगिन सकिन्छ”, डा घिमिरे भन्नुहुन्छ ।