मंसिर ६, २०८२ शनिबार

गुल्मी, ६ मङ्सिरः व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान पुनःपशुपालनमा आकर्षित हुन थालेका छन् । 

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१÷८२ मा किसानले पशुजन्य उत्पादनबाट रु चार अर्बभन्दा बढी कारोबार गरेको जानकारी दिनुभयो । 

    केन्द्रका अनुसार गत आवमा रु चार अर्ब ५९ करोड २९ लाखभन्दा बढी मासु, दूध र अण्डा उत्पादन भएको छ । जसमा रु एक अर्ब ८४ करोड ३८ लाखको दूध मात्रै उत्पादन भएको छ । 

    केन्द्रका अनुसार गत आवमा गाईको दूध छ हजार ३८१ मेट्रिकटन र भैँसीको दूध १६ हजार ४३७ मेट्रिकटन उत्पादन भएको थियो । जिल्लामा आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा २ दशमलव ५१ प्रतिशतले दूधको उत्पादनमा वृद्धि भएको केन्द्रको भनाइ छ ।
    
    हाल जिल्लाबाट दैनिक एक हजार ५०० लिटर दूध अन्य जिल्लामा जाने गरेको छ । जिल्लाका सत्यवती र रुरुक्षेत्र गाउँपालिकामा तुलनात्मक रुपमा बढी दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादन हुने दूध रुपन्देही र पोखरा पठाउने गरिएको छ । 
 
    गुल्मीमा गत आवमा रु दुई अर्ब ५८ लाख २३ हजार बराबरको मासु उत्पादन भएको छ । गत आर्थिक वर्षमा जिल्लाबाट १५ हजार खसीबोका, एक हजार ९०० राँगाभैँसी र पाँच लाख ४७ हजार ५०० लिटर दूध जिल्ला बाहिर निर्यात भएको कार्यालयले जनाएको छ ।