मंसिर ६, २०८२ शनिबार

तानसेन (पाल्पा), ६ मङ्सिरः रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्खामा दुईदिने न्वागी महोत्सव हुने भएको छ । यही मङ्सिर ७ र ८ गते रैनादेवी मन्दिर परिसरमा महोत्सव हुन लागेको हो । 

    यस वर्ष कात्तिक २७ गते देवीका लागि मुठी लिइसकेका किसानले मङ्सिर ७ गते ९ः३० बजेभित्र पूर्व दिशा फर्केर रैनादेवीलाई नयाँ धानको अक्षता चढाई न्वागी मनाउन लागेका हुन् । नयाँ धान भित्र्याएपछि पहिले देवीलाई चढाएर मात्र यहाँ उपभोग गर्ने प्रचलन छ । परापूर्वकालदेखि नै पश्चिम पाल्पा, पूर्वी अर्घाखाँची, दक्षिण गुल्मीका जनताले उत्पादन गरेको नयाँ धान, चामल रैनादेवी भगवतीलाई चढाएर मात्र खाने प्रचलन रहँदै आएको छ । 

    यस दिन देवीलाई धान चामल चढाउने, पूजा पाठ गर्ने, स्तुति गान गर्ने र सोही दिनको रातिदेखि नै मन्दिर परिसरमा आआफ्नो जातजातिको कलासंस्कृतिको प्रस्तुित गरी देवीलाई खुसी पार्ने चलन रहेको छ । 

    न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याइएमा सो घरमा अनिष्ट हुने जनविश्वासस्वरुप पश्चिम पाल्पाका जनताले परम्पराकालदेखि नै न्वागी पर्वलाई उत्सवका रुपमा मनाउँदै आएको पूर्वजनप्रतिनिधि विष्णु पोखरेलले बताउनुभयो । उहाँका अनुसार न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँगै मौलिक संस्कृति, जीवन पद्धति, कृषक तथा कलासंस्कृतिसँग गासिएको छ । 

    न्वागी पर्वको अवसर पारेर वडा कार्यालय र रैनादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा आएका भक्तजन तथा अतिथिलाई, नयाँ धानको चामल र दही खुवाउने र पालिकास्तरीय मौलिक कलासंस्कृतिसहितका विभिन्न किसिमका परम्परागत मौलिक कलासंस्कृति तथा नाच प्रदर्शन गरिने वडाध्यक्ष प्रदीप पौडेलले जानकारी दिनुभयो । 

    मन्दिर परिसरमा लोपोन्मुख पञ्चेबाजा, सोरठी, मालश्री, ठूलो नाँच, रत्यौली, झाम्रे चुड्का, लाखे, कौडा मारुनीजस्ता विभिन्न जातजातिका स्थानीय मौलिक कलासंस्कृतिको प्रतियोगिता सञ्चालन गरिने उहाँको भनाइ छ ।

    स्थानीय मौलिक कलासंस्कृतिलाई जोगाउन, स्थानीयस्तरमा कलाकार उत्पादन गर्न पालिकास्तरीय कलासंस्कृति प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाको नामसमेत यसै मन्दिरबाट रहेको छ, त्यतिमात्रै हैन पालिकाभित्रका हरेक वडा तहका स्थानहरु धार्मिक आस्थासँगै जोडिएका छन् । त्यसैले तिनीहरुको संरक्षणमा हामी लागेका छौँ ।” 

    प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार दोस्रो हुने टोलीलाई नगद रु १२ हजार र तेस्रो हुनेलाई १० हजार, सहभागी सबै टोलीलाई पाँच हजारका दरले पुरस्कारको व्यवस्था रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपालसिंह खाम्चाले बताउनुभयो । 

    हालको रैनादेवी मन्दिर भएको जङ्गल कुनै समय न्यौपाने थरका व्यक्तिको थियो । गाईले दैनिक रूपमा दूध नदिएपछि न्यौपाने र छहरी मगरले गाईको पिछा गर्दै जाँदा बारीको बीचमा सुनको मौलोमा दूध चढाइरहेको देखेपछि दुवै जनाले सुनको मौलो खन्दै जाँदा तलतल भासिँदै ग¥यो । सुनको टाउको भाँचेर भए पनि लैजान्छु भनी कोदालोको पासोले हान्दा रगताम्य भई रुँदै देवी उत्पन्न भएको भनाइ किंवदन्ती छ । 

    देवी भागेर अन्य स्थानमा जाँदै गर्दा दर्लामी र सोमै मगरले रोकी पूजाआजा सुरु गरेको किंवदन्ती पनि छ । आमरूपमा रोइन देवी पभ्रंश भई ‘रैनादेवी’ हुन गएको बूढापाकाहरू बताउँछन् ।