मंसिर ६, २०८२ शनिबार

गण्डकी, ६ मङ्सिरः पोखरा महानगरपालिका–३३, आँपु भञ्ज्याङस्थित कालिका माध्यमिक विद्यालयका  केही पूर्वविद्यार्थीले आफूले पढेको विद्यालययलाई सहयोग गरेका छन् ।

    उक्त विद्यालयबाट २०७५ को एसइई उत्तीर्ण उनीहरूले विद्यालयका सबै कक्षाकोठामा बिजुलीको व्यवस्थाका साथ पङ्खा जडान गरेका हुन् ।

    साथै उनीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा र प्रधानाध्यापक रुपीन्द्र प्रभावीलाई खेलकुद सामग्री पनि हस्तान्तरण गरेका छन् ।

    त्यस अवसरमा अध्यक्ष  थापाले आफू पढेको विद्यालयलाई सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै उनीहरूबाट भविष्यमा पनि यस्ता सत्कर्म हुने विश्वास व्यक्त गर्नुभयो ।