मंसिर ७, २०८२ आइतबार

काठमाडौँ, ७ मङ्सिरः ग्रामीण आदर्श क्याम्पस नेपालटारलाई पत्रकारितासम्बन्धी पुस्तक हस्तान्तरण गरिएको छ ।

    मिडिया प्वाइन्ट र राष्ट्रिय विकास सञ्चार केन्द्रमार्फत सङ्कलन गरिएका पत्रकारितासम्बन्धी पुराना तथा नयाँ पुस्तक आज हस्तान्तरण गरिएको हो ।

    उक्त पुस्तक मिडिया प्वाइन्टका संस्थापक एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रवन्धक एवं वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले क्याम्पस प्रमुख राजेन्द्रध्वज थापालाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका पुस्तकमा हिन्दी, नेपाली र अङ्ग्रेजी भाषाका ५८० पुस्तक रहेका छन् ।

    पुस्तक हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार बस्नेतले पत्रकारिताका पुस्तक क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि लाभदायी हुने भएकाले आफूले हस्तान्तरण गरेको बताउनुभयो । उहाँले पुस्तक कहिल्यै पुरानो नहुने भएकाले कतिपय पुराना पुस्तक अब पाउन पनि गाह्रो रहेको उल्लेख गर्नुभयो ।

    क्याम्पस पमुख थापाले पुस्तक सहयोग गरेर विद्यार्थीको शैक्षिक विकासमा सहयोग गरेको भन्दै मिडिया प्वाईन्टलाई धन्यवाद दिनुभयो । तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा सञ्चालित उक्त क्याम्पसमा तीन हजार २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।