किएभ, ७ मङ्सिर (एपी) : युक्रेनका प्रमुख पश्चिमी सहयोगी राष्ट्रहरूले शनिबार राजधानी वरिपरि भेला हुँदै अमेरिकाद्वारा तयार गरिएको विवादास्पद शान्ति योजनामा संशोधन गर्न दबाब दिएका छन् ।
उनीहरूका अनुसार उक्त योजना मस्कोको दीर्घकालीन मागहरूसँग निकट देखिएको छ । यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनी जनताले सधैँ आफ्नो मातृभूमिको रक्षा गर्ने दृढ प्रतिज्ञा दोहोर्याउनुभयो ।
फ्रान्स, जर्मनी र बेलायतका उच्चस्तरीय प्रतिनिधिमण्डलहरूको समन्वयमा युक्रेनले आइतबार स्विट्जरल्यान्डमा अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ताको तयारी गर्दैछ । लगभग चार वर्षदेखि जारी युद्ध रोक्न अमेरिकाद्वारा प्रस्तावित २८ बुँदे योजनाले किएभ र युरोपेली राजधानीहरूमा तीव्र चिन्ता जगाएको छ । राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले सार्वभौमिक अधिकार र अमेरिकी समर्थनबीच कठिन छनोटको जोखिम खेप्नुपर्ने अवस्था पनि उल्लेख गर्नुभएको छ ।
ह्वाइट हाउस बाहिर बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्ताव आफ्नो ‘अन्तिम प्रस्ताव होइन’ भन्दै शान्ति चाँडै हासिल हुनुपर्ने धारणा राख्नुभयो, यद्यपि त्यसको ठोस व्याख्या उहाँले गर्नुभएन ।
अमेरिकी योजना अनुसार युक्रेनले केही भूभाग रूसलाई हस्तान्तरण गर्नुपर्ने, सेनाको आकार घटाउनु पर्ने, तथा नाटो सदस्यतामा रोक सिर्जना हुनेजस्ता मागहरू छन् । यी मागलाई किएभले बारम्बार अस्वीकार गर्दै आएको छ ।
शनिबार युरोपेली सङ्घ (इयु), क्यानाडा र जापानका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी पहलको स्वागत गरे पनि सीमा बलपूर्वक परिवर्तन गर्न नहुने र युक्रेनी सेनामा व्यापक कटौती अस्वीकार्य हुने स्पष्ट सन्देश दिए । नाटो र इयु सम्बन्धी निर्णयहरू सदस्य राष्ट्रहरूको सहमतिबिना सम्भव नभएको कुरामा उनीहरूले जोड दिए ।
यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जले जोहानेसबर्गमा भएको जी–२० शिखर सम्मेलनमा भेट्दै युरोपलाई परामर्शबिना शान्ति प्रक्रिया अघि नबढाउन चेतावनी दिनुभयो । म्याक्रोनका अनुसार शान्ति योजनाले युरोपको सुरक्षा चिन्तादेखि युक्रेनको सम्भावित इयु सदस्यता तथा रुसको फ्रिज गरिएको सम्पत्तिसम्म धेरै विषयलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ, त्यसैले ‘व्यापक परामर्श’ अपरिहार्य छ ।
युक्रेनका वार्ताकारहरूले आइतबार जेनाभामा अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्ने तयारी गरिरहेका छन् । बैठकमा अमेरिकी पक्षबाट सेना सचिव ड्यान ड्रिस्कोल र राष्ट्रिय सुरक्षा सल्लाहकार तथा विदेशमन्त्री दुवै भूमिकामा रहनुभएका मार्को रुबियो सहभागी हुने अपेक्षा गरिएको छ ।
पश्चिमी राष्ट्रहरूले युक्रेनलाई दिगो र न्यायसङ्गत समाधानबिनै शान्ति सम्झौतामा हतार नगर्न आग्रह गर्दै आएका छन् । युरोपेली नेताहरूका अनुसार क्रेमलिनले युद्ध मैदानमा फाइदा खोज्ने रणनीतिमा वार्ता लामो समयदेखि अवरुद्ध गरेको छ । जी–२० शिखर सम्मेलनअघि बोल्दै बेलायती प्रधानमन्त्री किर स्टार्मरले ‘रूसले बारम्बार शान्तिको नाटक गरे पनि यसको कार्यले कहिल्यै त्यसलाई पुष्टि नगरेको’ टिप्पणी गर्नुभयो ।
जर्मन चान्सलर मेर्जले पनि ‘युक्रेनको बिना सहमति शान्ति सम्भव छैन’ भन्दै युरोप कुनै पनि शान्ति प्रक्रियाको अनिवार्य भाग हुनुपर्ने स्पष्ट सन्देश ट्रम्पलाई दिएको जानकारी दिनुभयो । उहाँका अनुसार वर्तमान अवस्थाले समाधानको झिनो सम्भावना देखाएको भए पनि ‘सबैका लागि राम्रो परिणाम प्राप्त गर्न अझै धेरै टाढा’ छ ।
यसैबीच युक्रेनले होलोडोमोर मेमोरियल दिवस मनाउँदै सन् १९३० को दशकको सोभियत–कालीन भीषण अनिकालको स्मरण गरेको छ । उक्त अवसरमा राष्ट्रपतिले टेलिग्राममार्फत रूसको निरन्तर आक्रमणको पृष्ठभूमिमा युक्रेनी जनताको बलिदान स्मरण गर्दै भन्नुभयो, “हामीले युक्रेनको रक्षा गरेका छौँ, गरिरहेका छौँ र सधैँ गर्नेछौँ । हाम्रो घरमा रूस कहिल्यै मालिक बन्ने छैन ।”