गण्डकी, ८ मङ्सिरः पच्चीसौँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघमा आयोजना हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घबाट माघ २७ देखि फागुन ९ गतेसम्मको समय तालिका प्राप्त भएको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
राष्ट्रिय÷अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित उक्त प्रतियोगिताको तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका स्तरीय क्लबले भाग लिने उहाँको भनाइ छ । प्रतियोगितामा सहभागी हुने टोलीको सङ्ख्या अझै टुङ्गो नलागेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यस प्रतियोगिताले फुटबलका माध्यमबाट पोखरालाई चिनाउने काम गरेको बताउनुभयो । फुटबलको विकासका लागि पोखरा महानगरपालिका सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्ड कपसँगको सहकार्य निरन्तर रहने बताउनुभयो ।
प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका, विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र उप–प्रायोजकमा पोखरा महानगरपालिका–९ कार्यालय रहेको छ । गत वर्ष भएको २४औँ संस्करणको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।
पत्रकार सम्मेलनमा क्लबले गत कात्तिक १४ गते आयोजना गरेको ‘सहारा च्यारेटी डिनर नाइट’ कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमबाट रु २४ लाख १९ हजार सङ्कलन भएकामा रु छ लाख ७७ हजार खर्च भई रु १७ लाख ४१ हजार बचत भएको क्लबले जनाएको छ ।
बचत भएको रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ सञ्चालनमा खर्च हुने क्लबका महासचिव गङ्गाराम पौडेलले जानकारी दिनुभयो । ऐेकेडेमीमा १६ जिल्लाका ३० किशोरले आवासीय सुविधासहित फुटबल सिकिरहेका छन् ।