गण्डकी, ८ मङ्सिरः खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन २०५८ सालमा स्थापित पोखराको सहारा क्लबले सञ्चालन गर्दै आएको आहा रारा फुटबल नेपाली फुटबलका क्षेत्रमा आफैँमा एउटा विशिष्ट पहिचानसमेत हो । त्यसो त फुटबल खेलाएरै सहारा फुटबल एकेडेमी सञ्चालन गरिरहेको यो क्लब देशको हिमालदेखि तराई र पूर्वदेखि पश्चिमबाट विभिन्न १६ जिल्लाका ३० असहाय विपन्न वर्गका बालकको दरिलो सहारासमेत बनिरहेको छ ।
सुरुमा २०५८ सालदेखि घरबाटै आवतजावत गर्ने गरी २० बालकलाई लिएर एकेडेमी सञ्चालनको प्रयास थालिएकामा २०६१ सालदेखि आवशीय रुपमा बालकहरू राखेर एकेडेमी सञ्चालन गरिएको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुुभयो । एकेडेमीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी छन् । पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमीमा १६ जिल्लाबाट २८ बालक राखेर आवासीय रुपमा एकेडेमी सुरु गरिएको उहाँले बताउनुभयो ।
“विद्यार्थीलाई गास, बास र कपासका साथै उचित शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षण निःशुल्क प्रदान गर्दैआएका छौँ”, अध्यक्ष थापाले भन्नुभयो ।
एकेडेमीमा आश्रित बालकहरु पोखरा–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयमा अध्ययनरत छन् । विसं २०५९ मा पहिलो क्याराभान गोल्ड कप एवं २०६० देखि आहा गोल्डकप सञ्चालनसँगै आवासीय रूपमा एकेडेमी चलाउने सोचले अघि बढेको अध्यक्ष थापाले बताउनुभयो । आहा गोल्ड कप सञ्चालनको एक दशक पछि आहा रारा गोल्ड कपका रुपमा सञ्चालन भएको उक्त फुटबल प्रतियोगिता पछिल्लो चार वर्षयता आहा रारा पोखरा गोल्ड कपका रुपमा सञ्चालन भइरहेको छ ।
एकेडेमी स्थापनासँगै क्लबबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन भएपछि सहाराको महत्व र गरिमा अझै चुलिएको छ । एकेडेमीकै उत्पादन राष्ट्रिय खेलाडी अनिल गुरुङ, प्रशिक्षक विष्णु गुरुङलगायतका कारण पनि एकेडेमीको सार्थकतालाई पुष्टि गरेको छ । एकेडेमीकै अवसर पाएका सुशील लामा, अजित भण्डारी र नवीन श्रेष्ठजस्ता खेलाडीका कारण पनि क्लबको उचाइ बढेको छ । त्यस्तै विशाल नेपाली र मुकुन्द निउरे पनि एकेडेमीकै उत्पादन हुन् ।
एकेडेमीको व्यवस्थित एवम् दीर्घकालीन सञ्चालनको उद्देश्यका साथ २०६३ सालमा पोखरा–१७ दोबिल्लामा रु २८ लाख ५० हजारको लागतमा २६ रोपनी जग्गा खरिद गरिएको थियो । उक्त परिसरमा तीनतले भवन, मिनी प्यारापिटसहितको फुटबल मैदानलगायत संरचना तयार गरिएका छन् ।
अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले करिब १२ वर्ष अघि यसका गतिविधिलाई समेटेर तयार पारेको ‘हिमालको देशमा फुटबलभित्र लुकेको कथा’ विषयको वृत्तचित्रले यसको भूमिकालाई अझै स्पष्ट पारेको छ । ध्यक्ष थापाका अनुसार एकेडेमी दीर्घकालीन रुपमा सञ्चालन गर्न स्व सूर्यबहादुर केसीको परिवारले वार्षिक रु १५ लाख उपलब्ध गराउँदै आएको छ । दश वर्षसम्म केसीको पुण्यतिथिका अवसरमा उहाँको परिवारले क्लबलाई वार्षिक सो रकम दिने गरी सम्झौता गरेकाले एकेडेमीको नामकरण ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ गरिएको छ ।
एकेडेमीकै व्यवस्थित एवं दीर्घकालीन सञ्चालनका लागि संस्थाले स्थापना गरेको सहारा फुटबल एकेडेमी अक्षयकोषमा हाल रु तीन करोड ४७ लाख मौज्दात छ । केसी परिवारबाट आउने सहयोगका साथै अक्षयकोषको ब्याज रकमबाट एकेडेमी सञ्चालन हुँदै आएको छ । एकेडेमी सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ क्लबको आयोजनामा यस वर्ष गत कात्तिक १४ गते सहारा च्यारिटी डिनर नाइट आयोजना गरिएको थियो । उक्त कार्यक्रममार्फत रु १७ लाख आम्दानी भएको थियो ।
‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ नारासहित २०५८ साल यता सञ्चालन भइरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताले सहाराको गरिमा र महत्वलाई अझै उजागर गरिरहेको क्लबका महासचिव गङ्गाराज पौडेल बताउनुहुन्छ । उहाँका अनुसार क्लबले सञ्चालन गर्दै आएको प्रतियोगितामार्फत दर्शकले काटेको टिकटबाट बचेको रकम एकेडेमी सञ्चालनमा उपयोग गर्दै आएको छ । गोल्ड कपको २५औँ संस्करण अर्थात् आहा रारा पोखरा गोल्ड कपको रजत जयन्ती फुटबल प्रतियोगिता सञ्चालन गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्मको समय तालिका प्राप्त भएको उहाँले जानकारी दिनुुभयो । प्रतियोगिताको मुख्य प्रयोजक आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि तथा संरक्षक पोखरा महानगरपालिका रहेको छ ।
–––