मंसिर ९, २०८२ मंगलबार

देवदह (रुपन्देही), ९ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु तथा सुशासनका निम्ति सबल आधार तयार गर्नु हो भन्नुभएको छ । 

आज भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताउनुभयो । 

केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत  निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढसुरक्षा योजना तयार गरी कार्यान्वयनमा जान सुझाव दिनुभयो ।

“राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीको रुपमा औँल्याउनुभएको छ, हामीले धेरै परिमाणमा विशेष अपरेशनमार्फत ती हतियार फिर्ता ल्याइसकेका छौंँ धेरै कैदी पनि फिर्ता भइसकेका छन्”, गृहमन्त्री अर्यालले भन्नुभयो ।

सङ्घीय गृह मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन कायम गर्न प्रदेश सरकार रणनीतिक योजना बनाएर अघि बढेको बताउनुभयो ।