मंसिर ९, २०८२ मंगलबार

काठमाडौँ, ९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठित विभिन्न समितिले आफ्नो कामलाई गति दिएका छन् ।

    एमालेको यही मङ्सिर ४ गतेको केन्द्रीय सचिवालयको ६०औँ बैठकले विभिन्न १४ समिति गठन गरेको थियो । यसबीचमा जनपरिचालन समिति र प्रचार कमिटीको बैठक भई आफ्नो कार्ययोजनमाथि छलफल गरी कार्यविभाजन गरेको छ । नयाँ नेतृत्व चयनमा केन्द्रित हुने एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

    जनपरिचालन समितिको संयोजक पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा सोमबार बसेको बैठकले महाधिवेशनको उद्घाटन सत्र (भदौ २७ गते) पालिका र वडा तहसम्म व्यापक जनसहभागिताका लागि कार्ययोजना पारित गरेको बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । सोमबार नै प्रचार समितिको बैठकले महाधिवेशनको ऐतिहासिक महत्व र पार्टीको नीतिका आधारमा सामाजिक सञ्जाल र आमसञ्चारमाध्यममा प्रचारप्रसारका लागि योजना बनाएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    महाधिवेशनका लागि देशभर एकै दिन यही मङ्सिर १३ गते प्रतिनिधि चयनको निर्णय गरेको एमालेले चयन प्रक्रियालाई व्यवस्थिति बनाउन पाँचबुँदे निर्देशन दिएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख काशिनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित  निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने बताउनुभयो । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ । 

    यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा मङ्सिर १३ गते गर्नुपर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ । 

    विभागले प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा रु एक हजारभन्दा बढी नलिन पनि निर्देशन दिएको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरुलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन दिएकोे छ । एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी (खुल्ला), जनसङ्गठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट समेत गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हँुदैछन् ।

    एमालेले आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन गर्ने निर्णय पनि गरेको छ । प्रवासी नेपाली सङ्घ भारत र प्रवासी नेपाली सङ्घ अन्तरराष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तीमा दुई महिलासहित पाँच जना चयन गर्ने तय गरेको छ ।

    एमालेले १६५ सङ्घीय निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी समावेशिताको सिद्धान्तअनुसार एक हजार १३५ प्रतिनिधि सहभागी हुनेछन् । हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने एमालेका केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो । उहाँले न्यूनतम एक हजार २०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक आठ÷आठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् ।