मंसिर ९, २०८२ मंगलबार

गण्डकी, ९ मङ्सिरः कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन् । नयाँ थपिएका मतदातामा अधिकांश युवा छन् । 

    यसअघि कास्कीमा कुल दुई लाख ९४ हजार मतदाता कायम रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । “मतदाता नामावली रुजु र अद्यावधिक भएपछि निर्वाचन आयोगबाट अन्तिम नामावली आउँदासम्म मतदाताको सङ्ख्या केही घटबढ हुनसक्छ”, उहाँले भन्नुभयो, “कतिपय मतदाताले एक जिल्लाबाट अर्को जिल्लामा मतदाता नामावली स्थानान्तरण गरिरहनुभएको छ ।”

    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयले मतदाता नामावली सङ्कलन तथा दर्ता, त्रुटि सच्याउन, स्थान परिवर्तनलगायतका काम गर्दै आएको छ । 

    राष्ट्रिय परिचयपत्रबाट अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्ने व्यवस्था भएपछि नयाँ मतदातालाई सहज भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था रहेको छ ।