मंसिर ९, २०८२ मंगलबार

मस्को, ९ मङ्सिर (सिन्ह्वा) : युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधानहरू “असंवैधानिक“ रहेको रूसी राष्ट्रपतिका  सहयोगी युरी उसाकोभले  बताउनुभएको छ । 

शान्ति योजनाका बारेमा धेरै अनुमान तथा प्रयासहरु भएता पनि रूसले संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त शान्ति योजना र जानकारीलाई मात्र विश्वास गर्ने उहाँले बताउनुभएको छ ।
  
यसै क्रममा अलास्कामा छलफल गरिएका योजनाका अधिकाशं प्रावधानहरू मस्कोका लागि स्वीकार्य रहेको उशाकोभले जनाउनुभएको छ ।  

रूसी मिडियाका अनुसार, “युरोपेली योजना“ ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको २८–बुदे शान्ति योजनामा धेरै संशोधन प्रस्तावहरु छन् । जसमा युक्रेनी सशस्त्र सेना वा रक्षा उद्योगको आकारमा कुनै प्रतिबन्ध नलगाउनु भनी उल्लेख गरिएको छ । यद्यपि अमेरिकी प्रस्तावमा युक्रेनी सशस्त्र सेनाको आकार सानो बनाई छ लाखमा सिमित गर्नु पर्ने सर्त रहेको जनाइएको छ ।  

आइतबार जेनेभामा आयोजित संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली सङ्घ (इयु) का प्रतिनिधिहरू बीचको परामर्श पछि प्रारम्भिक मस्यौदा योजना २८ बुँदाबाट घटेर १९ बुँदामा झरेको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

उसाकोभले शान्ति योजनाको विवरणबारे छलफल गर्न अमेरिकाले चाँडै रूससँग सम्पर्क गर्ने पनि बताउनु भएको छ । यद्यपि विशेष व्यवस्था भने अझै निर्धारण हुन सकेको छैन ।