असोज ५, २०७८ मंगलबार

काठमाडौँ, असोज ५ गते । ९६ प्रतिशतभन्दा माथिल्लो साक्षरता प्रतिशतमा पुगेपछि काठमाडौँ जिल्लालाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ ।

सोमबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले साक्षर काठमाडौँको घोषणा गरेका हुन् । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेलले सबै मापदण्ड पूरा भएपछि साक्षर काठमाडौँ घोषणा गरिएको जानकारी दिए ।

सोअनुसार शङ्खरापुर ९६.५ प्रतिशत, कागेश्वरी मनोहरा ९६.९७ प्रतिशत, गोकर्णेश्वर ९५.०४ प्रतिशत, बूढानीलकण्ठ ९८.६९ प्रतिशत, टोखा ९८.५४ प्रतिशत, तारकेश्वर ९८.०८ प्रतिशत, नागार्जुन ९७.८ प्रतिशत, चन्द्रागिरि, ९६.४७ प्रतिशत, कीर्तिपुर ९५ प्रतिशत, दक्षिणकालीमा ९६ प्रतिशत र काठमाडौँ महानगरपालिकामा ९६.६० प्रतिशत रहेको जनाइएको छ ।
विश्वव्यापी अभ्याससमेतलाई अनुशरण गर्दै १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका सम्बन्धित क्षेत्र एवं जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने सरकारको नीतिगत निर्णयका आधारमा काठमाडौँलाई साक्षर घोषणा गरिएको हो ।