मंसिर १०, २०८२ बुधबार

विराटनगर, १० मङ्सिरः प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’  नाराका साथ देशव्यापी शुचिता–जागरण अभियान २०८२ सुरुआत गरेको छ ।  विराटनगरमा आयोजित आज आयोजित पत्रकार सम्मेलन मार्फत् परिषद्ले देशभरका युवा र विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन, इमानदारी र नागरिक जिम्मेवारीतर्फ उन्मुख गराउने उद्देश्यसहित अभियान प्रारम्भ गरिएको घोषणा गरेको हो  ।

    परिषद्ले सामाजिक नकारात्मकतालाई अन्त्य गर्न र  सकारात्मक मूल्य–मान्यतालाई पुनःस्थापना गर्दै  जिम्मेवार नागरिक निर्माण गर्ने अभियानको ध्येय रहेको छ । 

    अभियान अन्तर्गत देशभरका क्याम्पस र समुदायमा ‘राष्ट्रका लागि सङ्कल्प’ कार्यक्रम,साहित्यिक–सांस्कृतिक गतिविधि, पोस्टर र सूचना–सामग्री वितरण तथा ‘नागरिक गोष्ठी’ आयोजना गरिने अभियानका संयोजक दिनेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले युवाबीच नागरिक कर्तव्य र राष्ट्रप्रेमबारे स्पष्ट धारणासहित व्यवहारिक रूपान्तरणतर्फ प्रेरित गर्ने लक्ष्य राखेको छ । संयोजक कार्कीले भन्नुभयो ,“देश परिवर्तनको आधार जिम्मेवार नागरिक निर्माण हो । युवा पुस्ताको सकारात्मक चेतना र अनुशासनबोधलाई सुदृढ बनाउँदै जाँदा मात्र राष्ट्र बलियो बन्छ ।”