जिगे मुगलगाई (अफगानिस्तान), १० मङ्सिर (एएफपी) : अफगानिस्तानको तालिबान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि पाकिस्तानमाथि आरोप लगाउँदै यसको ‘उचित प्रतिक्रिया’ दिने बताएको छ । तर पाकिस्तानले अफगानिस्तानमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ ।
खोस्त प्रान्तमा भएको हवाई आक्रमणमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा पोस्ट गर्दै जानकारी गराउनुभएको छ । अफगानिस्तानले आक्रमणमा पाकिस्तानी सेनाले ‘स्थानीय नागरिकको घर’ लाई लक्षित गरेको बताएको छ ।
एएफपीका एक संवाददाताका अनुसार पाकिस्तानको सीमा नजिकैको लक्षित क्षेत्रका बासिन्दाहरूले भत्किएको घरको भग्नावशेषमा पुरिएका आफन्तको खोजी गरेका छन् ।
“आम मानिसमाथि बम नबर्साइयोस् किनकि नागरिकहरूले कुनै गलत काम गरेका छैनन्”, जिगे मुगलगाई क्षेत्रका बासिन्दा साजिदुल रहमानले भन्नुभयो ।
खोस्तका गभर्नरका प्रवक्ता मुस्तगफिर गुरबुजले ड्रोन सहितको विमानबाट आक्रमण गरिएको बताउनुभयो ।
सरकारका प्रवक्ता मुजाहिदले कुनार र पक्तिका नजिकैको सीमावर्ती क्षेत्रमा पनि आक्रमण भएको र कम्तीमा चार जना घाइते भएको जानकारी दिनुभयो ।
मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अपगानिस्तान यस उल्लङ्घनको कडा निन्दा गर्दछ र आफ्नो हवाई क्षेत्र र जनताको रक्षा गर्नु उसको वैधानिक अधिकार हो र उसले सही समयमा उचित प्रतिक्रिया दिनेछ ।”
पाकिस्तानले कुनै पनि आक्रमण नगरेको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले पाकिस्तानले अफगानिस्तानमा आक्रमण नगरेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “जब हामी आक्रमण गर्छौं, त्यसलाई खुला र उचित रूपमा घोषणा गरिन्छ । पाकिस्तानले कहिल्यै पनि सर्वसाधारणमाथि आक्रमण गर्दैन । अफगानी अन्तरिम सरकारको आरोप निराधार छ ।”
पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल सङ्घीय कन्स्टेबुलरी फोर्सको मुख्यालयमा सोमबार भएको आत्मघाती आक्रमणमा परी तीन अधिकारीको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका थिए ।
अहिलेसम्म कुनै पनि समूहले यसको जिम्मेवारी लिएको छैन, तर राज्य सञ्चालित टेलिभिजन पिटिभीले आक्रमणकारीहरू अफगान नागरिक भएको जनाएको छ ।
पाकिस्तानका राष्ट्रपति आसिफ जर्दारीले तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) लाई स्थानीय भाषामा उल्लेख गर्दै विदेशी समर्थित ‘फितना अल–खवारिज’ ले अफगानिस्तानको भूमिबाट आक्रमण गरेको गरेको आरोप लगाउनुभएको छ ।
यसै महिना पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अदालत बाहिर भएको अर्को आत्मघाती बम विस्फोटमा परी १२ जनाको मृत्यु भएको थियो । यसको जिम्मेवारी पाकिस्तानी तालिबानको एक गुटले लिएको थियो ।
इस्लामाबादले राजधानी हमलाको पछाडि रहेको अफगानिस्तानमा रहेको लडाकू समूहको उच्च कमाण्डबाट निर्देशित भएको बताएको छ ।
– तनावमा युद्धविराम –
पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले मङ्गलबार पत्रकारहरूसँग इस्लामाबाद आक्रमणमा अफगान तालिबानको संलग्नता रहेको स्पष्ट प्रमाण भेटिएको बताउनुभयोे ।
उहाँले हिरासतमा रहेका चार संदिग्धमध्ये एकको कथित स्वीकारोक्ति उहाँले पोष्ट गरेको भिडियोमा भन्नुभयो, “आक्रमणमा अफगानिस्तान पूर्ण रूपमा संलग्न छ र तिनीहरूको माटो पनि संलग्न छ । त्यहाँ आश्रय लिइरहेका व्यक्तिहरू पनि संलग्न छन् ।
सन् २०२१ मा काबुलमा तालिबान सत्तामा आएपछि इस्लामाबाद र काबुलबीचको सम्बन्ध बिग्रिएको छ र अक्टोबरमा सीमा भिडन्तमा दुवै पक्षका करिब ७० जनाको मृत्यु भएको थियो ।
कतार र टर्कीको मध्यस्थतामा युद्धविरामसँगै त्यो लडाइँ समाप्त भएको थियो तर दोहा र इस्तानबुलमा भएका धेरै चरणको वार्ता दिगो सम्झौता गर्न असफल भएका छन् ।
विशेषगरी पाकिस्तानले काबुलले टिटिपी लडाकूहरूलाई नियन्त्रण गर्नुपर्ने मागमा सुरक्षा मुद्दाहरू अड्किएका छन् ।
इस्लामाबादले तालिबानले आक्रमणमा वृद्धि भएका आतङ्कवादीहरूलाई आश्रय दिएको आरोप लगाएको छ, विशेष गरी टिटिपीले वर्षौंदेखि पाकिस्तानविरुद्ध रक्तपातपूर्ण अभियान चलाइरहेको छ ।
पाकिस्तानले अफगानिस्तानप्रति शत्रुतापूर्ण सम्बन्ध रहेका समूहहरूलाई आश्रय दिने र आफ्नो सार्वभौमिकताको सम्मान नगर्ने गरेको आरोपको काबुलले खण्डन गर्दै आएको छ ।
अक्टोबरमा भएको झडपपछि छिमेकी देशबीचको सीमा छ हप्ताभन्दा बढी समयदेखि बन्द छ, जसले द्विपक्षीय व्यापार ठप्प पारेको छ ।
पाकिस्तान–अफगानिस्तान संयुक्त वाणिज्य तथा उद्योग चेम्बरले सीमामा हजारौँ कन्टेनर अड्किएको र प्रत्येकमा दैनिक १५० देखि २०० डलर शुल्क तिर्नुपर्ने भएको बताएको छ ।