मंसिर १०, २०८२ बुधबार

वासिङ्टन, १० मङ्सिर: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न लक्षित शान्ति सम्झौतालाई अन्तिम चरणमा पु¥याउने उद्देश्यसहित आगामी हप्ता आफ्ना विशेष दूत स्टिभ विटकफलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि मस्को पठाइने जानकारी दिनुभएको छ ।

    राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा जारी सन्देशमा शान्ति सम्झौतासम्बन्धी ‘केवल केही विवादित बुँदाहरू मात्र बाँकी’ रहेको बताउँदै दुवै पक्षबीच सहमति नजिकिएको सङ्केत गर्नुभएको छ । यद्यपि, युरोपेली नेताहरूले सतर्क प्रतिक्रिया जनाइरहेका छन् भने रूसी मिसाइल हमलाहरू युक्रेनका विभिन्न स्थानमा निरन्तर जारी नै छन् ।

    ट्रम्पले निकट भविष्यमा राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग प्रत्यक्ष भेट गर्ने आशा व्यक्त गर्दै ‘जब युद्ध अन्त्य गर्ने सम्झौता अन्तिम वा अन्तिम चरणमा पुग्छ, त्यसबेला भेट सम्भव हुनेछ’ भनेर बताउनुभएको छ ।

    पछि, एयर फोर्स वनमा साथ रहेका पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आफ्ना ज्वाइँ जारेड कुशनर पनि विटकफको टोलीसँग मस्कोमा सहभागी हुनसक्ने जानकारी दिनुभयो ।

    यसअघि विटकफ र पुटिनका विदेश नीति सल्लाहकारबीच भएका संवादकै आधारमा वासिङ्टनले अघि सारेको २८–सूत्रीय शान्ति प्रस्ताव तयार भएको हुनसक्ने चर्चा छ । ब्लुमबर्गले सार्वजनिक गरेको वार्ताको प्रतिलिपिअनुसार विटकफले ‘गाजामा अपनाइएका उपायजस्तै युक्रेनका लागि २०–सूत्रीय शान्ति योजना बनाउन’ सुझाव दिँदै पुटिनलाई उक्त प्रस्ताव ट्रम्पसमक्ष प्रस्तुत गर्न आग्रह गर्नुभएको थियो ।

    ट्रम्पद्वारा समर्थित प्रारम्भिक २८–सूत्रीय प्रस्ताव धेरै हदसम्म मस्कोलाई अनुकूल देखिएको भन्दै किएभले कडा असन्तुष्टि जनाएको थियो । हाल त्यसलाई प्रतिस्थापन गर्ने गरी युक्रेनका चासोलाई प्राथमिकता दिने नयाँ प्रस्ताव तयार गरिएको छ । प्रस्तावको अद्यावधिक संस्करणसँग परिचित एक अधिकारीले एएफपीलाई यसलाई ‘पहिलेभन्दा उल्लेखनीय रूपमा राम्रो’ भएको बताउनुभयो ।

    विटकफ चाँडै मस्को पुगेर पुटिनसँग सो संशोधित प्रस्तावमा छलफल गर्नुहुनेछ । तर फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले भने रूसको हालको मनोवृत्ति ‘युद्धविराम वा किएभका लागि अनुकूल प्रस्ताव’ तर्फ अभिप्रेरित देखिँदैन भनी चेतावनी दिँदै द्रुत समाधानको सम्भावनामा शङ्का प्रकट गर्नुभएको छ ।

    त्यसैबीच, अमेरिकी वार्ताकार डान ड्रिस्कोलले रुसी वरिष्ठ अधिकारीहरूसँगको भेटपछि उत्साहप्रद प्रगति भएको उल्लेख गर्दै ‘वार्ता सकारात्मक छ र हामी आशावादी छौँ’ भन्ने टिप्पणी गर्नुभएको छ । ह्वाइट हाउसले पनि ‘महत्त्वपूर्ण प्रगति भएको’ उल्लेख गर्दै तर अझै केही ‘नाजुक तर कठिन विवरणहरू’ बाँकी रहेको बताएको छ ।

    यद्यपि, सन् २०२२ मा सुरु भएको युद्ध थामिनसकेको अवस्थामै छ । रूसले मङ्गलबार राति जापोरिझियामा शृङ्खलाबद्ध आक्रमण गर्दा १८ जनाभन्दा बढी घाइते र ३१ आवासीय भवन क्षतिग्रस्त भएको क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ । अघिल्लो रात किएभमा शक्तिशाली विस्फोटहरू भएपछि रुसले प्रहार गरेका ड्रोन र मिसाइलहरूले आगलागी गराएका थिए, जसमा सात जनाको निधन भएको अधिकारीहरूले पुष्टि गरेका छन् । एएफपीका पत्रकारहरूका अनुसार तीव्र हवाई प्रतिरक्षा फायरका कारण रातो–सुन्तला रङको बाक्लो धुवाँले राजधानीको आकाश ढाकिएको थियो र स्थानीय बासिन्दाहरू भूमिगत मेट्रो स्टेशनहरूमा आश्रय लिन बाध्य भएका थिए ।

    युद्ध अन्त्यका लागि वार्तामा प्रगति भइरहेको ट्रम्पको दाबीका बाबजुद युरोपेली नेताहरू सतर्क देखिएका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले ‘अझै लामो अनि कठिन मार्ग बाँकी छ’ भनेर चेतावनी दिनुभएको छ ।

    संशोधित शान्ति प्रस्तावमा युक्रेनको भावी सैन्य क्षमतासम्बन्धी एक महत्त्वपूर्ण संशोधन पनि समावेश गरिएको छ, जसअनुसार प्रारम्भिक छ लाखको सीमालाई बढाएर करिब आठ लाख सैन्यजनशक्ति कायम गर्न सकिने व्यवस्था राखिएको छ ।

    युक्रेनी वार्ताकार रुस्तम उमरोभले संयुक्त राज्य अमेरिका र युक्रेनबीचको प्रस्तावित सम्झौतामा ‘मूलभूत समझदारी’ रहेको बताउनुभएको छ । तर बाँकी विषयहरू ‘उचित समयमा प्रत्यक्ष वार्तामार्फत’ समाधान गर्नुपर्नेमा उहाँले स्पष्टीकरण दिनुभयो ।

    युद्धको प्रभावबाट थकित युक्रेनी सेनाका सार्जन्ट इभान जादोन्त्सेभले पनि वार्तालाई ‘सकारात्मक’ ठहर गर्दै ‘हामी पनि युद्धबाट अत्यधिक थकित छौँ, हामीलाई शान्ति र विश्राम आवश्यक छ’ भन्ने प्रतिक्रिया दिनुभएको छ । तर अहिले प्रस्तावित अमेरिकी र युरोपेली सङ्घ (इयु) का कागजातहरूले ‘पूर्ण रूपमा युक्रेनको राष्ट्रिय हितलाई सम्बोधन नगरेको’ उहाँको टिप्पणी पनि रह्यो ।

    रूसले हाल युक्रेनको करिब २० प्रतिशित भाग कब्जामा राखिरहेको छ, जसको ठूलो हिस्सा युद्धले ध्वस्त पारिएको छ । युद्धका कारण हजारौँ सैनिक र नागरिकले ज्यान गुमाइसकेका छन् र लाखौँ मानिस देशका पूर्वी भागबाट विस्थापित हुन बाध्य भएका छन् ।