मंसिर १०, २०८२ बुधबार

भोजपुर, १० मङ्सिरः बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी कार्यालय भोजपुरमा सेवाग्राहीको चाप बढेको छ । करिब चार महिनादेखि रोकिएको कित्ताकाट प्रक्रिया कात्तिक २७ गतेदेखि खुल्नेबित्तिकै व्यक्तिगत जग्गा किनबेच, घर नक्सा पास, धितो राख्ने तथा अन्य कानुनी प्रक्रियाका लागि सेवा लिन आउनेको भीड बढेको कार्यालयले जनाएको छ ।

नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीका अनुसार, सरकारले विसं २०८३ असार मसान्तसम्मलाई लक्षित गरी अस्थायी रूपमा कित्ताकाट खुलाएपछि सर्वसाधारणले लामो समयदेखि रोकिएको आफ्नो काम अघि बढाउन थालेका छन् ।

“कित्ताकाट रोकिएको अवस्थामा धेरै सेवाग्राहीको काम भएको थिएन”, उहाँले भन्नुभयो, “अहिले सेवा खुलेसँगै दैनिक सेवाग्राहीको चाप बढेको छ । सेवाग्राहीले कित्ताकाटको सेवा लिन अवसर पाएका छन् । कित्ताकाट नहुँदा सेवाग्राहीको उपस्थिति न्यून थियो ।”

भोजपुरको नापी कार्यालयबाट सातवटा स्थानीय तहले नियमित रूपमा सेवा लिने गरेका छन् । उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले दिङ्लास्थित मालपोत कार्यालयको शाखाबाट सेवा लिँदै आएका छन् ।

कार्यालयका अनुसार, जिल्लाका नौ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले मात्रै भूमिको वर्गीकरणसम्बन्धी काम पूरा गरिसकेको छ । बाँकी स्थानीय तहले भने भूमिको वर्गीकरण प्रक्रिया अझै सम्पन्न गर्न सकेका छैनन् । अब सरकारले तोकेको अवधिभित्र, २०८३ असार मसान्तभित्र सबै स्थानीय तहले वर्गीकरण पूरा गरी  सक्नुपर्ने कार्यालयको भनाइ छ ।

भूमिको वर्गीकरण अधुरो हुँदा कित्ताकाट रोकिँदा सर्वसाधारणले व्यक्तिगत जग्गा बेचबिखन, धितो राखेर कर्जा लिने, कित्ताकाट गरेर अंशबन्ड गर्नेलगायतका काममा समस्या भोग्दै आएका थिए ।