काठमाडौँ, १० मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ । जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आआफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आमाको सम्मानमा उक्त जर्सी लगाउने निर्ण भएको हो ।”
बिहीबार पनि उक्त जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अक्सनमा राखिने जनाइएको छ । जर्सी बिक्रीबाट सङ्कलन भएको रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताउनुभयो । सुरुआती दुवै खेलमा पराजित भएको साविक विजेता जनकपुर बोल्ट्स बिहीबार भने पहिलो जितेको खोजीमा हुनेछ ।