मंसिर १०, २०८२ बुधबार

गण्डकी, १० मङ्सिर (रासस) : युवाहरूलाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पोखरामा तीन महिने सीपमूल तालिम सुरु भएको छ । तालिमको बुधबार सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शुभारम्भ गर्नुभयो । 

उहाँले युवालाई सीपमार्फत स्वदेशमै रोजगारी, व्यावसायिक अवसर र उद्यमशीलतासँग जोड्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, कास्कीका प्रमुख अनिल सुवेदीका अनुसार १३ शीर्षकमा तालिम सञ्चालन हुनेछ । एक हजार ती सय ५५ जनाले तालिमका लागि आवेदन दिएकामा यसपटक दुई सय ९९ जना मात्र छनोटमा परेको उहाँले बताउनुभयो । 

तालिमका सहभागीलाई पाककला, कपाल काट्ने (सैलुन), आधारभूत केश–शृंगार (ब्यूटीपार्लर), विद्युत् जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, सिलाइ–कटाइ, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेश्वरी शिक्षालगायत सीप प्रदान गरिनेछ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत गत आवमा पनि ३८ वटा सीपमूलक तालिम सञ्चालन गरिएको थियो । 

गत वर्ष सात सय ८७ जनाले विभिन्न १० किसिमका सीप आर्जन गरेका थिए । युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सीप विकासको कार्यक्रमलाई प्राथमिकता दिइएको मन्त्री थापाले बताउनुभयो । उद्यमशीलता प्रवद्र्धनका लागि बिउपूँजी र ब्याजनमा अनुदानसमेत दिइएको उहाँको भनाइ छ । 

“सीप सिकेर स्वेदशमै उद्यम गर्न चाहाने युवालाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउँछ, बैंकबाट सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ब्याजमा अनुदान दिने व्यवस्था मिलाइएको छ”, मन्त्री थापाले भन्नुभयो, “उद्यम सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएकाको साथमा प्रदेश सरकार छ ।” केन्द्रबाट व्यावसायिक सीप सिकेका कतिपय युवाहरू उद्यमशिलतामा जोडिइसकेका छन् । कमाइ गर्न विदेश जानेहरूलाई पनि हातमा सीप हुँदा रोजगारीमा सहज भएको छ ।