लम्की (कैलाली), १० मङ्सिर : कैलालीका तीन पालिका तहमा अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति बनाउन लागिएको छ । लम्की चुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति २०८२ बनाउन लागिएको हो । गुडनेवर्स इन्टरनेश्नल नेपालको सहयोगमा नीतिको मस्यौदा तयार गरी छलफल भइरहेको छ ।
अब बन्ने नीतिले अपाङ्गता बालबालिकाको हक अधिकार र सम्मानजनक जीवनयापनको अधिकारलाई कानुनी रूपमा संरक्षण गर्ने र हक अधिकारलाई सुनिश्चित गर्ने विश्वास गरिएको छ । “अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानीत जीवन जिउन सहज होस् भन्ने अभिप्रायका साथै कैलालीका तीन वटै पालिकाको स्थानीय नीति निर्माणमा सहयोग गरिरहेका छौँ,” गुडनेवर्स इन्टरनेश्नलका कार्यक्रम संयोजक अरुण चौधरीले भन्नुभयो ।
उहाँले पालिकामा अपाङ्गता बालबालिकासम्बन्धी नीति बनेपछि उनीहरूको राज्यका सार्वजनिक सेवा सुविधा र अवसरमा समान पहुँच पुग्ने विश्वास लिइएको बताउनुभयो । नीतिको छलफलमा सहभागी हुनु भएका लम्की चुहानगरपालिका—५का दृष्टिविहीन प्रभुनाथ उपाध्यायले यस नीतिले अपाङ्गता भएका बालबालिकालाई सहयोग पुग्ने बताउनुभयो ।
थापापुरका अर्का दृष्टिविहीन चक्रबहादुर मल्लले नीतिमा भएका कुरा पालिकाले कार्यान्वयन गर्ने हो भने अपाङ्गता भएकालाई जीवनयापनमा केही सहज हुने बताउनुभयो । हिँडाइसम्बन्धी समस्या भएकी अपाङ्गता महिला देवु टमट्टाले पालिका तहले अपाङ्गता भएका बालबालिका लागि ल्याउन लागेको नीतिको छलफलमा भाग लिन पाउँदा खुसी लागेको बताउँदै बन्न लागेको नीति कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।
लम्की चुहा नगरपालिकामा स्थानीय ऐन लागू भएपछि धेरै कानुन तथा कार्यविधि निर्माण भइसकेको भए पनि अपाङ्गता भएका बालबालिकाका लागि स्थानीय कानुन नबन्दा समस्या भइरहेको थियो ।
नगरपालिकाकी प्रशासकीय अधिकृत सुषमा महता केसीले भन्नुभयो, “अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा आवश्यक नीतिको अभावमा आवश्यक काम गर्न समस्या थियो,अव यो नीति निर्माण भएपछि सहज हुनेछ ।” उहाँले अपाङ्गता भएका बालबालिकासम्बन्धी नीति बनाउने काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
नेपालको संविधानले सामाजिक न्यायको हकमा अपाङ्गता भएका व्यक्तिलाई समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक निकायमा सहभागी गराउनुपर्ने प्रावधानको सुनिश्चितता गरेको छ ।
अपाङ्गता भएका व्यक्तिको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको सम्मानजनक जीवनयापनको अधिकारलाई कानुनले संरक्षण र प्रवद्र्धन गरेका कारण पनि पालिकाले संविधानको कार्यान्वयन र उनीहरूको हक अधिकारको सुनिश्चितताको लागि नीति निर्माण गर्न लागेको अधिकृत केसीले बताउनुभयो ।
नगर प्रमुख सुशीला शाहीले यो नीतिको कार्यान्वयनले अपाङ्गता भएकाहरूको संविधान प्रदत्त हक अधिकार सुनिश्चित हुने बताउनुभयो । कार्यक्रमा टीकापुर नगर प्रमुख रामलाल डगौरा थारु, जानकी गाउँपालिका प्रमुख गणेश चौधरी, टीकापुर नगर उपप्रमुख जुना चौधरी लगायतले पनि नीति बारेमा सुझाव दिनुभएको थियो ।
राष्ट्रिय जनगणना २०७८को प्रतिवेदन अनुसार नेपालमा कूल छ लाख ४७ हजार सात सय४४(कुल जनसङ्ख्याको २ दशमलब २ प्रतिशत) अपाङ्गता भएका व्यक्ति छन् । सुदूरपश्चिम प्रदेशभरी ६९ हजार ६७७ रहेकोमा कैलाली जिल्लामा मात्र २२ हजार चार सय ६५अपाङ्गता भएका व्यक्ति छन् ।
नीति बन्न लागेको लम्की चुहा नगरपालिकामा दुई हजार सात सय ४०, टीकापुर नगरपालिकामा एक हजार नौ सय २७ र जानकी गाउँपालिकामा एक हजार दुई सय सात अपाङ्गता भएका व्यक्ति छन् । नेपालमा १८ वर्ष मुनिका बालबालिकाको जनसङ्ख्या कूल जनसङ्ख्याको ३४ दशमलब आठ प्रतिशत रहेको छ ।
–––