मंसिर १४, २०८२ आइतबार

काठमाडौँ, १४ मङ्सिर: विपत व्यवस्थापनलाई सघाउने उद्देश्यले ‘कमन अलर्टीङ प्रोटोकल (क्याप)’ लागू गर्न बनेको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान व्यावहारिक अनुसन्धान तथा विकास केन्द्र (कार्ड) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा क्यापको मस्यौदामाथि आवश्यक सुझाव लिने क्रममा सोबारे जानकारी दिइएको हो । 
कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक विक्रम श्रेष्ठ जुवाले विश्व मौसम सङ्गठनले ल्याएको क्यापको अवधारणा नेपालमा कार्यान्वयन भए धेरै हदसम्म प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।

इन्स्टिच्युट्युड अफ इञ्जिनियरिङका डिन प्रा डा सुशीलबहादुर बज्राचार्यले प्रकोपको पूर्वसूचना प्रवाह गर्न सके धेरै जनधनको क्षति हुनबाट जोगाउन सकिने बताउनुभयो । यसका लागि सतर्कता संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्डका कार्यक्रम संयोजक  प्रा डा विष्णुप्रसाद पाण्डेले नेपालमा प्रकोपबाट हुने घटनाबारे बेलैमा सही सूचना नपाउँदा समस्या भइरहेको धारणा राख्नुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै पाण्डेले ‘एक सेकेण्ड’ ले पनि जनधन जोगाउन सकिने भन्दै अन्तिम चरणमा रहेको क्याप मस्यौदालाई जति सक्दो छिटो कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

कार्यक्रममा मस्यौदामाथि बुँदागत रूपमा छलफल भएको थियो । त्यस क्रममा सचेतनाको भाषा सरल र सहज बनाउने, छिटो सूचना पु¥याउने विषयमा सहभागीहरूले आफ्नो विचार राखेका थिए ।