मंसिर १५, २०८२ सोमबार

काठमाडौँ, १५ मङ्सिर : संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ ।

नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।