मंसिर १५, २०८२ सोमबार

पर्वत, १५ मङ्सिर : समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतमा आठौँ पर्वत महोत्सव गरिने भएको छ । 

पर्वत उद्योग वाणिज्य सङ्घले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस ९ गतेदेखि १९ गतेसम्म हुने जनाइएको छ । सङ्घ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी पौडेलले जानकारी दिनुभयो । 

महोत्सवका बारेमा जानकारी दिन आज बिहान उद्योग आयोजित पत्रकार सम्मेलनमा उहाँले ‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमको प्रचारप्रसार, प्रवर्द्धन र बिक्री व्यवस्थापन रहेको छ ।