मंसिर १५, २०८२ सोमबार

जुम्ला, १५ मङ्सिर : यहाँको तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । 

गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१/८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार गाउँपालिकाले सो आवमा अनुमानित कूल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ रु १७ करोड ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

बजेट खर्चको उक्त आवमा समग्र प्रगति चालुतर्फ रु २९ करोड ४१ लाख १७ हजार अर्थात् ८७ दशमलव ७५ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु १४ करोड ५५ लाख ७९ हजार अर्थात् ८२ दशमलव १ प्रतिशत खर्च भएको छ ।

जम्मा चालु र पुँजीगत गरी रु ४३ करोड ९७ लाख ६४ हजार अर्थात् ८५ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । बजेट निकासको आधारमा चालु र पुँजीगत गरी ९७ दशमलव ८३ प्रतिशत खर्च भएको छ । 

विकास निर्माणदेखी सेवा प्रवाहलाई चुस्त राख्न गाउँपालिकाले हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्नोत्तर गरेका थिए । 
---