ढोरपाटन (बागलुङ), १५ मङ्सिर : यहाँको जैमिनी नगरपालिका–९ को वडा कार्यालय भवन निर्माणका निःशुल्क जग्गा प्राप्त भएको छ ।
स्थापना कालदेखि हालसम्म वडा कार्यालयले पैयुँथन्थाप स्वास्थ्य चौकीको साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको थियो । स्थानीय नैनकली पाध्यायको परिवारले चार रोपनी निःशुल्क जग्गा प्रदान गरेको हो । अब वडा कार्यालयको भवन बनाउने बाटो खुलेको छ । स्वास्थ्य चौकी र वडा कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा सेवा प्रवाहमा समस्या थियो ।
जग्गा प्राप्तिका धेरै समय अगाडिदेखि नै प्रयास गर्दै आए पनि अहिले बल्ल प्राप्त गर्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । जग्गा पाएसँगै अब भवन निर्माणका लागि बजेट व्यवस्थापनतर्फ केन्द्रित हुने उहाँको भनाइ छ ।