मंसिर १५, २०८२ सोमबार

काठमाडौँ, १५ मङ्सिरः काठमाडौँका स्थायी बासिन्दा २७ वर्षे ईश्वतबहादुर अधिकारी हत्तपत्त राजनीतिक विरोध प्रदर्शनमा जानुहुन्नथ्यो । सानैदेखि अध्ययनमा अब्बल उहाँले जेनजी पुस्ताले उठाएका मुद्दालाई भने नजिकबाट नियालिरहनुभएको थियो । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, परिवारवाद र मुलुकको बिगँ्रदो अवस्थाले भने ईश्वतलाई पिरोलिरहेको थियो । 

    आमनेपाली युवा पुस्ता पनि ईश्वत जस्तै मुलुकको अवस्थाबाट चिन्तित थिए । युवाहरुले जेनजी पुस्ताका नामबाट तत्कालीन सरकारलाई खबरदारी गर्ने उद्देश्यले गत भदौ २३ गते राजधनीमा ‘भद्र’ विरोध आयोजना गरे । ईश्वतलाई पनि सो कार्यक्रमले ध्यान खिच्यो । त्यसदिन बिहानै ९ बजेदेखि नै युवाहरु माइतीघर क्षेत्रमा जम्मा भइरहँदा उहाँ भने घरै हुनुहुन्थो । परिवारसहित टेलिभिजनबाट विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण हेरिरहनुभएको थियो । 
    
    आन्दोलनमा सहभागीको सङ्ख्या बढ्दै थियो । नवयुवाहरु आर्थिक समृद्धिमार्फत मुलुकको भविष्य बदल्नुपर्छ भन्ने भावनाका साथ आन्दोलनमा होमिएका थिए । ईश्वतलाई अब टेलिभिजनबाट हेरेर मात्रै पुग्दैन मैदानमा उत्रनुपर्छ भन्ने मनमा लाग्यो । परिवारका सदस्यसँग भन्नुभयो, “अब म आन्दोलनमा जान्छु ।” 

    बुबा ईश्वरबहादुरले ‘बाबु, कफ्र्यू लागिसक्यो, तँ आन्दोलनमा नजा’ भन्नुभयो । तर उहाँको मन मानेन । आन्दोलनमा सहभागी भएरै छाड्ने जिद्दी गर्नुभयो । सरकारप्रति उहाँ रुष्ट हुनुहुन्थ्यो । नेपालमा केही हँुदैन । जति गरे पनि केही छैन । देशको अवस्था राम्रो छैन । सोझो तालले केही हुन्न । अब विदेश जाने र परिवारको समृद्धि खोज्ने उहाँको सपना थियो । 

    छोरा एक्लै आन्दोलनमा जान खोजेपछि बुबाले पनि सँगै जाने भन्नुभयो । मुटुको बिरामी भएकाले छोराले बुबालाई सँगै लान चाहनुभएन । ईश्वत करिब १ बजे ‘पठाओ’ चढेर आन्दोनल भइरहेको क्षेत्रतर्फ जानुभयो । 

    अपराह्न करिब २ बजेर १२ मिनेटमा ईश्वतले बुबालाई फोन गर्नुभयो । फोनमा भन्नुभयो, “म नयाँ बानेश्वर चोकमा छु, मेरा अगाडि पाँच÷छ जना गोली लागेर ढलेका छन् । बुबाले छोरालाई ‘तँ बच है’ भन्नुभयो । त्यसपछि छोराको कुनै जवाफ आएन । त्यति नै बेला ईश्वतलाई पनि गोली लागेको हुनसक्ने बुबाको अनुमान छ ।”

    बुबालाई टेलिफोनमा छोराको जवाफ नआएपछि मनमा झस्को पस्यो । उहाँको आँखा टेलिभिजनमा भए पनि ध्यान छोरा कहाँ गयो भन्नेमा थियो । टेलिभिजनमा प्रस्तोताले बोलिरहेका थिए–नयाँ बानेश्वर क्षेत्रमा गोली चल्यो, घाइतेलाई सिभिल लगायतका अस्पतालमा लैगिँदैछ । 

    आधा घण्टासम्म छोराको फोन नआएपछि बुबाले लगातार छोराको मोबाइलमा फोन गर्नुभयो । निकै पछि अपरिचत व्यक्तिले फोन उठायो । तपाईं को हो ? भनेर सोध्यो । म ईश्वतको बुबा हो भनेपछि तुरुन्त ट्रमा सेन्टरमा आउनुस् भन्ने जवाफ पाउनुभयो । ईश्वरबहादुरले टेलिफोनमै, के गोली लाग्यो भनेर सोध्नुभयो । अस्पतालमा छिटो आउनुस् भन्ने जवाफले उहाँमा शङ्का बढायो । 

    ट्रमा सेन्टरमा पुग्दा त्यहाँ छ÷सात जनाको शव थियो । सबैको अनुहार हेर्दै जाँदा शवको भीडमा ईश्वतको पनि शव भेटियो । आन्दोलनका क्रममा मृत्यु भएको पुष्टि भयो । त्यसपछि ईश्वतसँगै अन्य मृतकको शव पनि त्रिवि शिक्षण अस्पतालको शवगृहमा लगियो । शव परीक्षणपश्चात् आठौँ दिनको दिन बल्ल ईश्वतको दाहसंस्कार गरियो । 

    शारीरिक रुपमा फुर्तिलो, जिम गरेर शरीर चुस्त–दुरुस्त बनाउने अभ्यासमा रुचि राख्ने अधिकारी फुटबल, बक्सिङ र टेबुलटेनिस खुब खेल्नुहुन्थ्यो । ईश्वत अधिकारी परिवारका कान्छा छोरा हुनुहुन्थ्यो । अधिकारी परिवार पछिल्लो समय बालाजु ढुङ्गेधारा क्षेत्रमा बस्दै आएको थियो । विसं २०५५ साउन ११ गते थापाथली प्रसूति गृहमा जन्मिनुभएका अधिकारी मनोविज्ञान र अङ्ग्रेजीमा स्नात्तकोत्तर तथा व्यवस्थापन सङ्कायमा पनि स्नातकोत्तर गर्दै हुनुहुन्थ्यो । 

    ईश्वतले उपयुक्त रोजगारी नदेखेपछि विदेश जानुपर्छ भन्ने सोच बनाउनुभएको थियो । अमेरिका जाने तयारी गर्नुभयो । त्यहाँको सफल नभएपछि तिहारपछि बेलायत जाने तयारी गर्नुभएको भएको थियो । 

    उहाँका दाजु पनि ‘इनअफ इज इनअफ’का अभियन्ता नै हुनुहुन्छ । त्यस दिन दाजु मनाङमा हुनुहुन्थ्यो । जेनजीको एउटा समूहले ईश्वतको दाजुलाई विरोधको नेतृत्व गर्न आग्रह गरेका थिए । उहाँ मुलुकको अवस्थाबाट दिग्दार भएर घुम्न निस्केको परिवारको भनाइ छ । 

    ईश्वतको परिवारले आइतबार मात्रै प्रधानमन्त्री सुशीला कार्कींसँग भेटेर जेनजी सहिदको भावनालाई सम्बोधन गर्न अनुरोध गर्नुभयो । त्यसमा प्रधानमन्त्री अत्यन्त सकारात्मक हुनुहुन्छ । हामी आशावादी छौँ । हाम्रै छोराछोरीको बलिदानबाट अहिलेको सरकार बनेको हो । सरकारलाई कानुनले अप्ठ्यारो पारेको छ भन्ने बुबा ईश्वरलाई लागेको छ । 

    पीडित परिवारका तर्फबाट हामीले शिक्षा, रोजगारी, पहिचान कार्ड, पेन्सन, बिमालगायतको  न्यूनतम् माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छौँ । राजनीति अझै अप्ठेरो छ । सत्ताको नेतृत्व गर्नुपर्नेमा सरकार पनि प्रतिपक्ष जस्तो भएको छ । जेनजीमा नेतृत्व गर्ने खालका नेता भएन । सरकारले काम गर्न खोजेको छ, कर्मचारीले रोक्न खोजिरहेको छ । तीन महिना भयो । गृहमन्त्री पनि पक्षमै हुनुहुन्छ । कानुनले अल्झायो । सरकारले बाटो, खेलकुद भवन, रङ्गशाला पनि जेनजी सहिदको नाम राख्नुपर्छ । 

    आमा अन्जनाका अनुसार ईश्वतको मनपर्ने परिकार आजभोलि घरमा पाक्न छाडेका छन् । ईश्वतले मःमः र मासुका परिकार खुबै मन पराउनहुन्थ्यो । आमासँग खुलेरै भलाकुसारी गर्ने, सरसल्लाह लिने उहाँको स्वभाव थियो । 

    जेनजी सुशासन योद्धा ईश्वतका नजिकका साथी निराजन शाही सजिलो साथी गुमाउनुपर्दा भावविह्वल हुनुहुन्छ । उहाँको नजरमा ईश्वत पढाइमा अब्बल, सरल, मिलनसार र निडर स्वभावको हुनुहुन्थ्यो । जेनजी आन्दोलनको अघिल्लो दिन उहाँहरु दुवै जना गोदाबरी घुम्न जानुभएको थियो । त्यस क्रममा ईश्वतले भोलि आफू आन्दोलनमा जाने बताउनुभएको थियो ।