म्याग्दी (बेनी) १५ मङ्सिरः अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता हुनुभएकी एक विदेशी पर्यटकको शव फेला परेको छ । यही मङ्सिर ९ गते बेपत्ता हुनुभएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ स्थित बङ्करको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उहाँको शव भेटिएको हो । पर्यटक बेपत्ता भएपछि खोजीमा जुटेका पथप्रदर्शक र स्थानीयले आज शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार शव परीक्षणका लागि काठमाडौँ पठाइने र आवश्यक अनुसन्धान पनि सुरु गरिएको छ । ती पर्यटक म्याग्दीको खोप्रोमा एक रात बास बसेर दोबाटोतिर एक्लै जाँदै गर्दा बेपत्ता हुनुभएको थियो । प्रहरीले भिरबाट खसेको हुनसक्ने अनुमान गरेको छ ।