काठमाडौँ, १५ मङ्सिर ः तेह्रौँ कोरियन एम्बेसडर अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता आजदेखि ललितपुरमा सुरु भएको छ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घद्वारा सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनमा सुरु भएको प्रतियोगिता यही मङ्सिर २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालका सात प्रदेश, तीन वटा विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका टोलीबीच प्रतिस्पर्धा हुनेछ । आज यहाँ एक कार्यक्रमका बीच पूर्वयुवा तथा खेलकुदमन्त्री विराटभक्त श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत राजदूत पार्क तेइ योङले प्रतियोगिताको शुभारम्भ गर्नुभयो ।
प्रतियोगितामा एक हजार ५३० खेलाडीले ग्यरोगी, पुम्से तथा पारा तेक्वान्दो विधामा प्रतिस्पर्धा गर्ने सङ्घले जनाएको छ ।
प्रत्येक दुई वर्षमा हुने यो प्रतियोगिता सन् २००३ मा पहिलोपटक आयोजना गरिएको थियो । प्रतियोगिताका निर्णायकमा नेपाली सेनाका अन्तरराष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकाल रहनुभएको छ ।