मंसिर १५, २०८२ सोमबार

काठमाडौँ, १५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११ औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले नीति महाधिवेशन सम्पन्न गरिसकेकाले अब नेतृत्व चयनको महाधिवेशन हुने बताउनुभयो । 

उपमहासचिव गुरुङले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता पक्षमा उभिएकाले केही विमति भए पनि राष्ट्रिय स्वाधीनताको पहलेदार भने पक्कै रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको मुद्दा र राष्ट्रिय स्वाधीनताको मुद्दा बोक्ने नेता ओलीलाई नै फेरि पनि पार्टी नेतृत्वमा लैजानुपर्ने बताउनुभयो । 

जनताको बहुदलीय जनवाद (जबज)को उत्तरअधिकारी कुनै परिवारको सदस्य नभई पार्टी अध्यक्षको हैसियतले ओली नै रहेको गुरुङको भनाइ थियो । “जबज भनेर हिँडेका मान्छे धेरै थिए । ती चुनाव हार्दै पार्टी छोड्दै हिँडे । त्यही भएर उनीहरु कोही पनि जबजको उत्तराधिकारी होइनन्”, उहाँले भन्नुभयो, “जबजको व्याख्या र कार्यान्वयन गर्ने व्यक्ति केपी शर्मा ओली नै हुनुहुन्छ ।”

कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लेख्नुभएको ‘जनताको बहुदलीय जनवादका आधारहरू’ पुस्तक विमोचन गरिएको छ । नेता गौतमले पुस्तकमा मदन भण्डारीसँग आफूले काम गरेको अनुभव पुस्तकमा लेखेको बताउनुभयो ।