काठमाडौँ, १५ मङ्सिरः नेकपा (संयुक्त)ले आगामी माघ ३ र ४ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरूमा आएको सैद्धान्तिक विचलनका कारण कम्युनिष्ट आन्दोलनलाई पुनःगठन गरी शक्तिशाली बनाउन सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।
पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताका रूपमा घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई मनोनयन गर्ने निर्णय गरेको बताउँदै नेता भुसालले पार्टीका अन्य दस्तावेज र विधानहरू पनि तयार गर्न आफ्नो नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको बताउनुभयो ।
मुलुक भूराजनीतिको चपेटामा परेकाले अहिले गम्भीर सङ्कटमा फसेको उल्लेख गर्दै उहाँले सबै देशभक्त, लोकतान्त्रिक शक्ति, राष्ट्रवादी र कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएकाले त्यसको अन्त्य गर्न माग सहित जेन्जी आन्दोलन भएको त्यसको भावनाअनुरुप ठूला राजनीतिक पार्टी तथा नेतृत्व सुध्रिन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
पुराना पार्टी नसुध्रिने तथा नयाँ पार्टीहरू राजनीतिप्रति परिपक्व नहुँदा आफूहरुले नयाँ अभियान साथ पार्टी पुनः गठन गर्ने बताउँदै कायवबाहक अध्यक्ष भुसालले घुस नखानेहरुको पार्टी बनाउने त्यसमा सदाचारी र निष्ठावान सबै अटाउने प्रष्ट पार्नुभयो । नेकपा (संयुक्त) र एकीकृत समाजवादी पुनःगठन अभियानबीच एकता गरी सो पार्टी गठन गरिएको थियो ।