मंसिर १५, २०८२ सोमबार

सिरहा, १५ मङ्सिरः हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा तत्कालका लागि आवतजावतलाई सहज बनाउन अस्थायी ‘डाइभर्सन’ निर्माण हुने भएको छ । 

हुलाकी सडक निर्देशनालयअन्तर्गतको योजना कार्यालय जनकपुरले आइतबार डाइभर्सन सडक निर्माणका लागि ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको छ । कार्यालयका प्रमुख कृष्णकुमार महतोका अनुसार रु एक करोड २४ लाख ८५ हजारको लागतमा सिरहाको बसविट्टाघाट र कमला खोलालाई जोड्ने गरी ५५ मिटर लम्बाइ र १० मिटर चौडाइको अस्थायी ‘डाइभर्सन’ निर्माण गर्न लागिएको हो । आकस्मिक कार्यअन्तर्गत आह्वान गरिएको ठेक्काअनुसार एक महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

यहाँ विगत १४ वर्षदेखि पक्की पुल निर्माणाधीन अवस्थामा छ । हाल स्थानीय युवाले बनाएको काठको पुल र नदीमा डुङ्गाको माध्यमबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ । 

यसैबीच यही मङ्सिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पुलको निरीक्षणका क्रममा तत्कालै अस्थायी प्रकृतिको डाइभर्सन बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । 

मन्त्री घिसिङको निर्देशनपछि पुल निर्माणको जिम्मेवारी लिएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

विसं २०६८ जेठमा तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको यो पुल १४ वर्ष बितिसक्दा पनि अधुरै छ । विसं २०७८ असार १७ गते कमलाको बाढीले भाँसिएको पुलको निर्माण सम्झौता हाल नवौँपटक म्याद थपको प्रक्रियामा छ । 

डुङ्गाबाट नदी वारपार गर्दा ठूलो जोखिम बढेकाले पक्की पुल पुनर्निर्माण भएर सञ्चालनमा नआउञ्जेल डाइभर्सनले ठूलो राहत प्रदान गर्नेछ ।