मंसिर १५, २०८२ सोमबार

धुलिखेल, १५ मङ्सिरः काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ । 

स्थानीय किसान हरिप्रिया सापकोटाको बारीमा तोरी फूलले गाउँकै सुन्दरता थपेको छ । उहाँले बारीभरि फुलेका तोरीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको बताउनुभयो । “बारीमा पहेँलपुर देखिने गरी तोरीको फूल फुलिरहेको छ, केही कालो तोरीको बोट हुर्किंदै छन् । केही भागमा भने मिश्रित रुपमा आलुखेतीसमेत छ । यसले यहाँको सुन्दरता थपेको छ”, सापकोटाले भन्नुभयो, “गाउँलाई सुन्दर बनाउने मात्रै होइन, यहाँको उत्पादन राम्रो आम्दानीको स्रोत भएको छ । त्यसैले नगदे बाली तोरीखेतीलाई निरन्तरता दिँदै आएका छौँ ।”

सोही वडाका अर्का किसान एवं माउण्ट महाभारत ‘होमस्टे’का सञ्चालक कमल नेपालले घरायसी प्रयोग र बिक्रीबाट आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भइरहेको बताउनुभयो । “कृषकले खाद्यान्न बाली मकै भित्र्याएपछि नगदे बालीको रूपमा तोरीखेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “जसले फुल्ने बेला वातावरणलाई सुन्दर बनाउने मात्रै होइन उत्पादक  कृषकलाई घरायसी प्रयोग र बिक्रीबाट आम्दानी पनि भइरहेको छ ।” 

पर्यटकीय हिसाबले प्रसिद्ध सो ठाउँमा भएको तोरीखेतीको आकर्षक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षिक बनाउने गरेको नेपालले बताउनुभयो ।

बेथानचोक गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक मधुसुदन दाहालका अनुसार गाउँपालिकाको ४० देखि ४५ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ । यसबाट प्रतिहेक्टर क्षेत्रफलमा एक दशमलव दुई मेट्रिक टन तोरी उत्पादन हुँदै आएको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाको सबैजसो वडामा तोरीखेतीको राम्रो उत्पादन हुँदै आएको बताउनुभयो । पालिकाको केही क्षेत्रमा तुषारोले समस्या पार्नेबाहेक सबैजसो ठाउँमा अधिकांश किसानले यसबाट लाभ लिँदै आएको उहाँको भनाइ छ । 

“अझ गाउँपालिकाको वडा नं १ च्याम्राङबेँसी माथिल्लो गाउँका किसानमध्ये एक घरले वार्षिक रूपमा १०÷१२ मुरिसम्म उत्पादन गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “त्यसरी खेती गर्ने किसानको समस्यालाई सम्बोधन गर्नका लागि पालिकाले पनि प्रोत्साहन गर्दै आएको छ । नीति कार्यक्रम बनाउनुअघि छलफल गरेर अगाडि बढ्ने गरेका छौँ ।”

हाल तोरीको फूल फुल्ने मौसम भएकाले पालिकाको सबैजसो बारीका पाटाभरि पहेँलपुर हुनेगरी फूल फुलेको देख्न पाइन्छ । यहाँका किसानले तोरीका अतिरिक्त आलु र अन्य तरकारीखेती गर्दै आएका छन्, जबाट मनग्य आम्दानी हुने गरेको छ ।