मंसिर १५, २०८२ सोमबार

काठमाडौँ, १५ मङ्सिरः मानिसको जीवनमा श्रीमद्भगवद् गीताका उपदेश आवश्यक भएको प्रवचनसहित गीता प्रादुर्भाव जयन्ती मनाइएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती देशभरका मठ मन्दिरमा मनाइएको हो । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम पनि आयोजना गरिएको छ । 
 
पाँच हजार १३३ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास छ ।

     कुरुक्षेत्रमा महाभारत युद्ध हुन लाग्दा अर्जुन सबै आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाउनुभएको ग्रन्थ गीता हो । गीताको ज्ञान मानवमात्रका लागि आवश्यक मानिन्छ । हालसम्म सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ विश्वमै गीता नै हो । 

यस अवसरमा आज विभिन्न मन्दिरमा गीता पाठ पारायण गरिएको थियो । गीता मन्दिर स्वयम्भूमा शोभायात्रासहति प्रवचन गरिएको थियो । यसैगरी पशुपति क्षेत्रमा गीता प्रेसले प्रवचन कार्यक्रम राखेको जनाइएको छ । चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानले जनाएको छ ।

ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका १०१ शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसकेका छन् । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको आज प्रवचन कार्यक्रमका वक्ताले सुनाएका थिए ।