भोजपुर, १६ मङ्सिरः भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी सचेतना फैलाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अभियान सुरु गरिएको पौवादुङमा गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमार्फत गाउँपालिकामा सचेतनाका कार्यक्रम सुरु भएको उहाँको भनाइ छ ।
विद्यालयस्तरमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले यहाँका सबै माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । “हामीले माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर लैङ्गिक हिंसा तथा विद्युतीय अपराधबारे जानकारी दिइरहेका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “अभियानमार्फत कुनै पनि किसिमको हिंसालाई रोकथाम गर्ने र विद्यार्थीलाई सुरक्षित बनाउनेतर्फ सहयोग पुग्ने अपेक्षा राखिएको छ ।”
अभियानमार्फत विद्यार्थीलाई लैङ्गिक हिंसाका रूप र प्रभाव, विद्यालय तथा समुदायमा देखिने सुक्ष्म हिंसाका अवस्था, अनलाइन ठगी, ‘फेकआइडी’ र ‘ब्ल्याकमेलिङ’लगायत विद्युतीय अपराधका जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानुनी व्यवस्थालगायत विषयमा जानकारी दिने काम भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।
स्थानीय सबै विद्यालयमा चरणबद्ध रूपमा अभियान सञ्चालन भइरहेकाले विद्यार्थीस्तरमै सचेतनाको दायरा बढ्ने र भविष्यमा हुने सम्भावित हिंसात्मक घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीका माध्यमबाट सबै परिवारसम्म विभिन्न किसिमका हिंसासम्बन्धी सचेतना पुगोस् भन्ने लक्ष्यले अभियानका रूपमा कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।