कालिका खड्का
काठमाडौँ, १७ मङ्सिर: जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्वायत्त क्षेत्रको ल्हासा सहरमा भएको उक्त सम्मेलनमा महिला अधिकार, कानुन र तिब्बती उपचार पद्धतिका साथै महिला उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकलाको विकासमा दुवै देशबीच सहकार्यका सम्बन्धमा छलफल भएको छ ।
सम्मेलनमा आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाले नेपाली महिला प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रामा दुवै देशका महिलाबीचको यो पहिलो औपचारिक महिला सम्मेलन भएको थियो । सम्मेलनले दुई देशबीचको मैत्रीपूर्ण सहकार्य अझ सुदृढ गर्दै महिला विकासका नयाँ मार्गहरू पहिचान गरेको आयोगका सदस्य रानाको भनाइ छ ।
समावेशी नेपाली प्रतिनिधिमण्डलमा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार कालिका खड्का, उद्योग परिसङ्घ युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा डोन मल्ल, नेपाल ‘ल’ क्याम्पसका सहायक प्राध्यापक डा विष्णु बस्याल, नेपालस्थित चिनियाँ दूतावासका युवा सदस्यहरु सदस्य कुन्दन शर्मा (मेकालिनकल इञ्जिनियर) र श्रीया गिरी (मानसिक स्वास्थ्य विद्), जेनजी पुस्ताकी प्रतिनिधि ओजस्वी भट्टराई र आयोगका सदस्य रानाकी सहयोगी प्रतिक्षा घले गुरुङ सहभागिता रहेको थियो ।
“यो सम्मेलन नेपाल–¬चीनका महिलाबीचको संवाद मात्र होइन, दुई देशका महिलाका बहुआयामिक क्षेत्रमा सहकार्यको नयाँ सुरुवात भएको छ”, आयोगका सदस्य रानाले भन्नुभयो, “यसलाई निरन्तरता दिन सकियो भने दुवै देशका महिला र युवाको भविष्य उज्यालो हुनेछ ।”
नेपाली प्रतिनिधिमण्डलले तिब्बती उपाचार पद्धतिको अवलोकनका क्रममा सहभागीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएका थिए । आयोगकी सदस्य रानाले स्वास्थ्य परीक्षणपछि भन्नुभयो, “तिब्बती उपचार पद्धति सस्तो, सरल र नेपाली आदिवासी उपचार विधिसँग अत्यन्त मिल्दोजुल्दो रहेछ, नेपालमै यसका तालिम उपलब्ध गराउने सम्भावना सकारात्मक रूपमा व्यक्त गरिएको छ, जुन असाध्यै राम्रो हो ।”
महिला अधिकारबाट आर्थिक विकाससम्म कार्यक्रममा नेपाल र चीनका महिलाबीच–महिला अधिकारका कानुनी विकास, सरकारी सेवा प्राप्तिमा महिलाको अवस्था, स्वास्थ्य, शिक्षा र उद्यमशीलताबारे विस्तृत रुपमा छलफल भएको थियो । महिलाको आर्थिक उत्पादन, सामाजिक पहुँच र नेतृत्व विकासका क्षेत्रमा दुवै देशका प्रतिनिधिबीच अनुभव र विचार साटासाट गरिएको थियो ।
सम्मेलनमा सिजेङ प्रान्तका वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओयाङ झिबिङले सम्मेलनलाई नेपाल–चीन मित्रताको ७० वर्षमा महिलामार्फत सुरु भएको पहिलो औपचारिक सहकार्य भएकाप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दुवै देशका महिलाबीचको संवादले कूटनीतिक सम्बन्धमा नयाँ जीवन र ऊर्जा थप्नेछ भन्ने विश्वास लागेको छ ।”
सम्मेलनको उद्देश्य नेपाल–चीन मैत्रीपूर्ण सहकार्यलाई मजबुत बनाउने, महिलाको क्षेत्रमा गुणस्तरीय विकास अभिवृद्धि गर्न सहयोग पु¥याउने, कानुन, मानवअधिकार, स्वास्थ्य, शिक्षा, पर्यटन, जडीबुटी, हस्तकला क्षेत्रमा सहकार्यका साथै नयाँ सम्भावना पहिचान गर्ने रहेको उहाँको भनाइ थियो ।
प्रतिनिधिमण्डलले तिब्बती उपचार पद्धतिमा प्रयोग हुने प्राकृतिक जडीबुटी, आदिवासी ज्ञान र उपचार विधि नजिकबाट अध्ययन गर्नुभएको थियो । उद्यमशीलता, पर्यटन र जडीबुटीमा सहकार्यका नयाँ ढोका सफल भएको भन्दै महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीे भ्रमण अत्यन्त सफल र फलदायी रहेको भनाइ व्यक्त गर्नुभयो ।
“सम्मेलनमा उद्यमशीलता क्षेत्रका अवसर, चुनौती र भविष्यका सम्भावनाबारे गहन छलफल भयो”, उहाँले भन्नुभयो, “नेपाली उद्यमीलाई निःशुल्क सीप विकास तालिम र उद्यमशीलता अभिवृद्धि कार्यक्रम उपलब्ध गराउने सम्बन्धमा सकारात्मक प्रतिबद्धता प्राप्त भयो ।”
पर्यटन, जडीबुटी, कृषि तथा हस्तकला प्रवर्द्धनका क्षेत्रमा दुवै पक्षबीच दिगो सहकार्यका बुँदाहरूमा विस्तृत विचार–विमर्श हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले तिब्बती उपचार पद्धति नेपालका मुस्ताङ, मनाङ, हुम्ला, डोल्पा जस्ता उत्तरी भूभागमा उपयोगी हुन सक्ने उहाँको विश्लेषण छ ।
युवा उद्यमी, पत्रकार, कानुन व्यवसायी तथा मेकानिकल इञ्जिनियरहरूको सहभागिताले सम्मेलनलाई नयाँ पुस्ताको दृष्टिकोणले समृद्ध बनाउँदै चिनियाँ पक्षले नेपालका युवालाई सीप विकास, शिक्षा र प्रविधिमैत्री परियोजनामा सहयोग गर्ने विश्वास दिलाएको छ । सिजाङ प्रान्तले महिलाका निःशुल्क शिक्षा, सुरक्षित आवासगृह, महिला–केन्द्रित परियोजन सञ्चालन गरेको छ ।
नेपालीले बनाएका हस्तकला सामग्री चीनमा लोकप्रिय हुँदै गएको देखिनुले दुवै देशबीच सांस्कृतिक र आर्थिक सहकार्यक्षेत्र अझ व्यापक बन्ने सङ्केत दिएको नेपाली प्रतिनिधिमण्डलको अनुभव छ । सहकार्यको यात्रा निरन्तर भएमा सम्मेलन उपलब्धिमूलक, अर्थपूर्ण र भविष्य–सुखी रहेको सहभागीहरूको ठम्याइ छ । दुवै देशका महिलाबीच स्थापित भएको सम्बन्धले कूटनीतिक सम्बन्ध, महिला नेतृत्व, स्वास्थ्य, उद्यमशीलता, पर्यटन, कृषि तथा जडीबुटी उद्योग सबै क्षेत्रमा नयाँ सम्भावना खोलेको नेपाली भ्रमण टोलीको अनुभव छ ।