काडमाडौँ, १७ मङ्सिर : नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पार्टीको विधानअनुसार स्थानीय तहदेखि सङ्घीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको सहभागिता सुनिश्चित गरेको बताउनुभएको छ । भविष्यमा पनि यस्तो सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने पार्टीको प्रतिबद्धता उहाँले सन्देशमा दोहोर्याउनुभएको छ ।
नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशितालगायत विषयहरूलाई कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको कार्यवाहक सभापति खड्काले सन्देशमा उल्लेख गर्नुभएको छ ।