काडमाडौँ, १७ मङ्सिर : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताउनुभएको छ ।
चौतिसौँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण अपाङ्ग समुदायप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उहाँले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हामी सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
संयोजक दाहालले समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, शिक्षा तथा रोजगारमा समान अवसर र सम्मानजनक जीवनका आधारहरूमा टेकेर नै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सकिने सन्देशमा उल्लेख गर्नुभएको छ ।
–––